पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ ठूलो दुर्घटनाबाट जोगिनुभयो

हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ ठूलो दुर्घटनाबाट जोगिनुभएको छ । भैरवटोलबाट बगर जाँदै गरेको पोखरा माईक्रो बस अन्तर्गतको ग.१ख.५२८७ नम्बरको बसले श्रेष्ठ चढेको ग.२ च. ६३९६ नम्बरको कारलाई  आज ठक्कर दिएको थियो ।

पोखरा नदीपुर ट्राफिक विटबाट करीब ५० मिटर पश्चिमबाट उत्तरतर्फ मोडिन खोज्दा तीव्र गतिमा गुडिरहेको बसले अनियन्त्रित भई ठक्कर दिएको श्रेष्ठले बताउनुभयो ।

“म घर जानेबाटोतर्फ के मोडिन खोजेको थिएँ दुई सय मिटर टाढाबाट बस तीव्र गतिमा आईरहेको देखेँ । क्रस गर्न नभ्याईने भएपछि हत्तपत्त बायाँ मोड्न खोजेको मात्र थिएँ बसले त घरको गेटमा अगाडिको भागले हान्यो, पछाडिको भागले भने म बसेकै साईडमा ठक्कर दियो । म ठूलो दुर्घटनाबाट बचेँ, धन्न बाँचियो ।’उहाँले भन्नुभयो ।

दुर्घटनाबाट श्रेष्ठ चढेको कारको अग्र भागमा क्षेति पुगेको छ । श्रेष्ठलाई भने बाहिरी चोटपटक लागेको छैन । तर कान र आँखामा भने सामान्य दुखाई रहेको श्रेष्ठले बताउनुभयो । गाडीको ठक्करबाट स्थानीय टीकादेवी शेरपुञ्जाको घरको गेट र पर्खाल भत्काएको छ ।

पोखरा बस सञ्चालक कम्पनी प्रालिले आगामी दिनमा चालकलाई जिम्मेबार बनाएर लापरवाहीबाट दुर्घटना हुन नदिनका लागि आवश्यक कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि मिलापत्र भएको छ ।

सहमति अनुसार पोखरा बस सञ्चालक कम्पनीले नगर क्षेत्रमा गति न्यून गर्न प्रभावकारी कदम चाल्ने, चालकलाई यात्रुमैत्री व्यवहार गर्न लगाउने तथा कथमकदाचित दुर्घटना भईहाले हिट एण्ड रनजस्तो हर्कत नगरी घाईतेको रेस्क्यू गर्ने, सम्मानजनक व्यवहार गर्नेलगायतका कार्य गर्नुपर्नेछ ।

त्यस्तै कम्पनीले कारको मर्मतसम्भार र घरको भत्केको गेट र पर्खाल पुर्ननिर्माण गरिदिनेगरी त्रिपक्षीय सहमति भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

Comments
Loading...