कालिका क्याम्पसको अध्यक्षमा प्रेमकुमारी र सदस्यमा किरण

हिमाली आवाज । कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा प्रेमकुमारी केसी सर्वसम्मत चयन हुनुुभएको छ ।
समितिका जेष्ठ सदस्य जे.बी कुवरको अध्यक्षतामा शनिवार वसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

क्याम्पसको संरक्षक एवं सिनेटर समेत रहनुुभएकी केसी लामो समय देखि सो क्याम्पसको सञ्चालक समितिको महिला सदस्य पदमा रही कार्य गर्दै आउनुुभएको थियो । नवनियुक्त अध्यक्ष केसी क्याम्पसका संस्थापक अध्यक्ष समाजसेवी एवं उद्योगपति स्व. सूर्यबहादुर केसीका धर्मपत्नी हुनुहुन्छ ।

समितिको सोही बैठकले रिक्त सञ्चालक समिति सदस्य पदमा यूवा उद्यमी किरण केसीलाई मनोनयन गरेको छ । क्याम्पसको संरक्षक सिनेटर समेत रहेका यूवा व्यवसायी केसी पूर्व अध्यक्ष स्व.केसीका सुपुत्र हुनुहुन्छ ।

आफ्नो बावुको पदचाप पछ्याउदै समाजसेवामा अग्रसर केसी छोटो समयमै लोकप्रिय युवाको रुपमा अगाडि बढ्नुभएको छ ।  यसैगरी आजै वसेको बैठकले संस्थापक अध्यक्ष स्वं. केसीको निधनमा बर्ष दिनभरी क्याम्पसका कुनै उत्सव एवं समारोह नगर्ने निर्णय गरेको समितिका सदस्य भिमसेन थापाले जानकारी दिनुभयो ।

स्नातकोत्तर तह सम्म अध्यापन हुने उक्त कालिका बहुमुखी क्याम्पस सेतिपूर्वको उच्च शिक्षा दिने पोखराको पहिलो क्याम्पस हो । २०४८ सालमा स्थापना भएको सो क्याम्पसको संस्थापक अध्यक्ष प्रतिनिधि सभाका सदस्य एवं समाजसेवी केसीको कार्तिक १७ गते असामयिक निधन भएपछि अध्यक्ष पदरिक्त हुन गएको थियो ।

उच्चशिक्षाको लागि प्रख्याती कमाएको सो कालिका क्याम्पसको भौतिकविकास र शैक्षिक उन्नयनमा केसी परिवारको महत्वपूर्ण योगदान रहि आएको छ ।

Comments
Loading...