पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार

हिमाली आवाज । पोखराका अग्रज साहित्यकार तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ । शनिबार घिमिरेकै निवास पोखरा–३, नदीपुरमा आयोजित एक कार्यक्रमकाबीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानका पूर्व कुलपति, साहित्यकार सरुभक्तले नगद रु २२ हजार २२२,दोसल्ला र ताम्रपत्रसहितको पुरस्कार घिमिरेलाई अर्पण गर्नुभएको हो ।

साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित पुरस्कार मुक्तक मञ्च पोखराले हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककार, अनुसन्धानकर्ता वा मुक्तकसँग सम्बन्धित संस्थालाई प्रदान गरिँदै आएको छ । सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा र सरुभक्त सम्मानित भइसक्नुभएको छ ।

विसं १९९६ असोज १ गते जन्मेका साहित्यकार घिमिरे ६ दशकभन्दा लामो समयदेखि साहित्य साधनामा क्रियाशील हुनुहुन्छ । विसं २०२२ सालमै गण्डकी बृहत् साहित्य सम्मेलनमा स्वर्ण पदक विजेता घिमिरे शिरोमणि सम्मानलगायतका साहित्यिक र शैक्षिक पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको थियो । उहाँका अनवारण मुक्तकमाला, देशकाल, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन् ।

सम्मानित साहित्यकार घिमिरेले स्रष्टाको दृष्टिले देखेका कुरा लेख्न नसकिने युगबाट देखेको लेख्न पाउने युगमा आउन पनि धेरै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले उमेरले ८ दशक पार गरिसक्दा पनि साहित्य साधनामा लागिपरेका घिमिरेलाई सम्मान गरेर मुक्तक मञ्च आफैँ सम्मानित भएको धारणा राख्नुभएको थियो ।

साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले घिमिरेका सम्पूर्ण रचनाहरु एकीकृत रुपमा प्रकाशन हुनुपर्ने धारणा राख्नुभयो ।
सल्लाहकार दीपक समीपको संयोजकत्वमा पूर्व अध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा घिमिरलाई पुरस्कृत गरिएको हो ।

मुक्तक मञ्च पोखराका अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरतराज पौडेलले स्वागत र सचिव श्रीराम अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

सोही अवसरमा सम्पन्न ५९ औं नियमित मुक्तक वाचनमा भरतराज पौडेल, के.आर. ढकाल, अनिता दाहाल, अल्पविराम, लक्ष्मण थापा, विपिन आचार्य, कृष्ण देवकोटा, विकास गौतमलगायतले मुक्तक वाचन गर्नुभयो ।

Comments
Loading...