एक साताभित्र गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषिका कार्यालय स्थापना गरिने

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गर्ने भएको छ ।

कृषि,पशुपालन तथा मत्स्य सम्वन्धी सेवा लिन सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी कार्यालय स्थापना गर्न लागिएको बताइन्छ ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले आगामी एक साताभित्रमा सबै जिल्लामा कार्यालय स्थापना गरिने बताउनुभयो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आइतबार पोखरामा आयोजना गरेको चिया तथा कफी विकासका लागि बोर्ड,स्थानीय सरकार र प्रदेश सरकारकाबीच समन्वय तथा अन्तरक्रिया कार्यक्रममा उहाँले जिल्लामा कार्यालय खोल्नका लागि सङ्गठन तथा व्यवस्थापन(ओएनएम) स्वीकृत भईसकेकाले केही दिनमै कर्मचारी व्यवस्थापन गरी कार्यालय सञ्चालनमा आउने स्पष्ट पार्नुभयो ।

कृषिमन्त्री थापाले चालू आर्थिक वर्षबाट नेपाल सरकारबाट ७५ प्रतिशत तथा मन्त्रालयबाट २५ प्रतिशत गरी प्रदेशका सबै कृषकको कृषि बीमा निःशुल्क गरिने भएकाले सबै कृषकलाई लाभ लिन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशमा चिया तथा कफी खेतीका लागि अनुकुल हावापानी तथा मौसम रहेकाले व्यावसायिक उत्पादनका लागि उत्पादन क्षेत्रको यकिन गर्नु कार्य स्थानीय सरकारले गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले उत्पादित कृषि उपजको बजारिकरणका लागि सरकारले कृषकलाई साथ दिने बताउनुभयो ।

वलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले कफी उत्पादन हुने सबै गाउँपालिकामा प्राविधिक कर्मचारीको व्यवस्था गर्न माग गर्नुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले चिया र कफी नगदेवाली भएपनि ओझेलमा परेकाले प्रदेश तथा स्थानीय सरकारले खेतीको विस्तारका लागि कृषकहरुलाई आकर्षीत गर्नुपर्ने बताउनुभयो ।

प्रदेशमा उत्पादित चिया र कफीको बजारिकरणका लागि प्रदेशस्तरमा सञ्चालित सरकारी, गैरसरकारी तथा अर्धसरकारी कार्यालयहरुमा अनिवार्य सेवन÷प्रयोगको व्यवस्था गर्नुपर्ने र कृषकहरुलाई उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव सवनम सिवाकोटी, मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्रमुख माधव लम्साल,कफी सहकारी संघका केन्द्रीय उपाध्यक्ष भवानी शर्मा, ल्वाङ टिस्टेटका सञ्चालक हितकाजी गुरुङ,कफी सहकारी संघ कास्कीका अध्यक्ष आनन्द सुवेदी लगायतले व्यवसायिक कफी खेती विस्तारका लागि तीन वटै निकायकाबीचमा समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

गण्डकीका ११ जिल्ला मध्य नौ जिल्लामा कफीको सम्भावना रहेको बोर्डले जनाएको छ । गण्डकीमा आर्थिक वर्ष २०७६÷०७७ मा कूल ९५१ हेक्टर जमीनमा कफी खेती गरिएको र १७० मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।

यहाँ १५ हजार साना कफीका किसान रहेको र दुई लाख हेक्टर क्षेत्रफल जमीनमा खेती गर्न सकिने सम्भावना रहेको बताइन्छ । कफीको खपत बाग्मती प्रदेशपछि गण्डकीमा बढि छ ।

Comments
Loading...