गोर्खाको आरुघाटमा मोटरेवल पुल र दुई झोलुङ्गे पुल शिलान्यास

हिमाली आवाज । गोर्खाको आरुघाट गाउपालिका–४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ ।
गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभयो ।

मन्त्री बस्नेतले आर्खेत आसपास र उत्तरी गोर्खाका जनताहरुलाई पुल निर्माणपछि सहज हुनेमात्र नभइ उत्तरी गोर्खा जोड्नका लागि समेत पुलले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उत्तरी गोर्खाको मनाश्लु क्षेत्र जोड्ने सडक समेत भएकाले पुलले पदमार्गमा जोडिने उत्तरी गोर्खाका सर्वसाधारण, पदमार्गमा जाने पदमार्गी र उत्तरी गोर्खामा ढुवानी सेवा पुर्याउन सहज हुने वताए । तिब्बत संग जोडिएको भेग भएकाले तिब्बत संग जोडिने मार्ग समेत पुलले सहज बनाउने उहाँको भनाई छ ।

आरुघाट गाउपालिकाका अध्यक्ष पूर्ण दाहालले पुल सिलान्यासले आरुघाट बासीमा खुसीयाली छाएको बताउँदै आर्खेत खोलामा वर्षेनी वर्षा यामको समयमा मानिसहरुलाई आवतजावतमा समस्या परिरहेको बेला प्रदेश सरकारले पुल निर्माण गर्न लाग्दा आफुहरु निकै खुसी भएको बताउनुभयो ।

रु ५ करोड ६५ लाख लागतमा निर्माण गर्न लागेको पुल कोभिड १९ को प्रभावका कारण सम्झौता भएको केही महिनापछि निर्माण सुरु हुन लागेको र निर्माण कम्पनी संग समयसिमा भित्रै पुल निर्माण सम्पन्न गर्ने समेत सम्झौता भएको भौतिक पूर्वाधार बिकास कार्यालय गोर्खाका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण वस्नेतले आरुघाट गाउपालिका वडा नम्बर ३ को स्याम्राङ र देउरालि जोड्ने झोलुङ्गे पुल र थुमि निबोट जोड्ने झोलुङ्गे पुलको समेत सिलान्यास गर्नुभएको छ ।

स्याम्राङ र देउरालि जोड्ने झोलुङ्गे पुल ३ सय ४६ मिटर लामो र २ करोड १० लाख लागत लाग्ने पूर्वाधार बिकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी थुमि निबोट झोलुङ्गेपुल ३ सय ७८ मिटर लामो हुने र लागत २ करोड ६० लाख रहेको उनको भनाइ रहेको थियो । उक्त पुलहरु गोर्खामा निर्माण भइरहेको झोलुङ्गे पुलहरुमध्ये लामो हो । उक्त पुलहरु १८ महिना भित्र सकाउने गरि एस ए शैलेन्द्र जेभीले निर्माणको जिम्मा लिएको छ ।

Comments
Loading...