गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन काँग्रेस र समाजवादीको माग

हिमाली आवाज । गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र जनता समाजवादी पार्र्टीले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन लिखित माग गरेका छन् ।
दुबै दलका गरी १७ प्रदेशसभा सदस्यले हस्ताक्षर गरी आज गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेशसभाको विशेष अधिवेशन बोलाई पाउँु भनि माग गरेका हुन् ।
बैठक माग गरिएको पत्र नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र जनता समाजवादीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।

संविधानले नागरिकलाई स्वास्थ्य सम्वन्धी मौलिक हक प्रदान गरेको भएपनि विपन्न र असहाय नागरिकले परीक्षण र उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको, महङ्गी अस्वभाविक बढेको, बजेट कार्यान्वयन निराशाजनक रहेको र जनसरोकारका ज्वलन्त मुद्धालाई सम्वोधन गर्न सरकार असफल भएको पत्रमा उल्लेख छ ।

काँग्रेस दलका नेता नेपालीले कोरोनाबाट जनजीवन प्रभावित भएको अवस्थामा जनस्वास्थ्य र जीवनसँग सम्वन्धित संवेदनशील विषयमा प्रदेशसभा मौन र मुकदर्शक रहन नहुने र यस बारेमा संसदमा छलफल आवश्यक भएकाले नेपालको संविधानको धारा १८३ को उपधारा तीन अनुसार विशेष अधिवेशन माग गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“शुरुदेखीनै हामी विश्वव्यापी महामारी कोरोनाका विषयमा सरकारलाई सचेत गर्दै आएका थियौँ । महामारीको प्रभाव अहिलेपनि रहेको र सबै क्षेत्रमा यसको असर परेको अवस्थामा जनताको समस्या सदनमा छलफलका लागि विशेष अधिवेशन माग गरेका हौँ ।”

जनता समाजवादीका प्रदेशसभा सदस्य आचार्यले कोरोना सङ्क्रणमण र मृत्यु दर समेत बढेको अवस्थामा सरकारले परीक्षण र अस्पतालहरुमा जनशक्ति व्यवस्थापनमा सरकारले वेवास्ता गरेको बताउँदै जनसरोकारका विषयमा छलफलका लागि संसद अधिवेशन माग गरिएको बताउनुभयो ।

प्रदेशसभाको अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन बोलाउन बाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यहरुले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले अधिवेशनको मिति तोक्न सक्ने संविधानमा व्यवस्था गरिएको छ । गण्डकी प्रदेशसभामा ६० प्रदेशसभा सदस्य छन् ।

Comments
Loading...