१३ औँ सागमा बक्सिङतर्फ स्वर्ण विजेता खेलाडीलाई बिहीबार पोखरामा सम्मान गरिने

हिमाली आवाज । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई बिहीबार पोखरामा सम्मान गर्ने भएको छ ।

गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर तथा नेपाल आर्मीका मिनु गुरुङ र सनिल शाहीलाई सुनको पदक सहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य समेत रहनुभएका एकेडेमीका संयोजक राजेश गुरुङले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिनुभयो ।
एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, विषयगत समिति, पत्रकार महासङ्घ गण्डकी प्रदेश,कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि सम्मानपत्र सहित सम्मान गर्ने भएको छ ।

यसैगरी प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा खेलाडी राजु गैरे(नेपाली)का परिवारलाई रु एक लाख एक हजार १११, पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक जीवन चौधरीलाई रु ७० हजार ७७०,खेलका क्रममा घाइते राष्ट्रिय महिला भलिबल खेलाडी लक्ष्मी कुमाललाई रु २१ हजार १११,क्रिकेटर सन्तोष न्यौपानेलाई रु ३० हजार ३३० र टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई रु ५० हजार ५५० आर्थिक सहयोग प्रदान गरिने संयोजक गुरुङले जानकारी दिनुभयो ।

यसैगरी वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडीलाई समेत कार्यक्रममा सम्मान गरिने र खुला रक्तदान कार्यक्रम आयोजना गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

Comments
Loading...