उच्च रक्तचाप र मधुमेहका बिरामी खोज्दै सार्दिखोलाका स्वास्थ्यकर्मी टोलटोलमा

हिमाली आवाज । युवा उमेरबाट बयस्क लाग्दै गर्दा धेरै जनामा उच्च रक्तचाप र मधुमेह लगायतका रोगले समेत सताउँदै जान्छ । व्यस्त दिनचर्या र शारीरिक परिश्रमको कमीका कारण समुदायमा उच्च रक्तचापका लगायत नसर्ने रोगका बिरामी बढिरहेका छन् ।

समयमै पहिचान नगर्ने तथा रोग छिपिप्दै गएपछि यसले दीर्घकालसम्म स्वास्थ्यमा असर पार्ने भएकाले रोगको न्यूनीकरण गर्ने लक्ष्य सहित कास्कीको माछापुच्छ«े गाउँपालिकाको एक स्वास्थ्य संस्थाले नसर्ने रोगका बिरामी पहिचान गर्न वडासम्म अभियानका रुपमा परीक्षण कार्यक्रम शुरु गरेको छ ।

गाउँपालिकाको वडा नं २ मा रहेको सार्दिखोला स्वास्थ्यचौकीले समुदायमा लकुेर रहेका नसर्ने रोगका बिरामीहरु पत्ता लगाउने र रोगको रोकथाम,नियन्त्रण र उपचारमा मद्धत गर्ने कार्यक्रम अभियानका रुपमा शुरु गरेको स्वास्थ्य चौकीका इन्चार्ज अनिता घिमिरेले बताउनुभयो । उहाँका अनुसार टोल टोलमा सञ्चालन हुने अभियानका क्रममा सबै नागरिकको उच्च रक्तचाप,मधुमेह र मोटोपनाको परीक्षण गरी बिरामीको पहिचान गर्ने र त्यसपछि स्वास्थ्यचौकीको निगरानीमा नियमित स्वास्थ्य जाँच र परामर्श प्रदान गरिने छ ।

समाजमा लुकेर बसेका नसर्ने रोगका बिरामीहरु पहिचानका लागि स्वास्थ्य चौकीले टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । कार्यक्रम अन्तर्गत वडाका ४० वर्ष माथिका दुई हजार नागरिकको मधुमेह,उच्च रक्तचाप र मोटोपनाको परीक्षणको कार्यक्रम रहेको बताइन्छ । वडाका विभिन्न १६ वटा टोलमा पुगेर स्वास्थ्यकर्मीले समुदायस्तरमा बिरामीहरुको पहिचानको कार्ययोजना बनाएका छन् ।

विशेषगरी बयस्क उमेरमा प्रवेश गरेकाहरुको स्वास्थ्य परीक्षण गरी जोखिम भएकाहरुका लागि थप नियमित परीक्षण र अनुगमन गरिने स्वास्थ्य चौकीले जनाएको छ । “नसर्ने रोगको छनोट परीक्षण तथा समुदाय अभिमूखीकरण कार्यक्रम स्वास्थ्य चौकीको आफ्नै योजना र व्यवस्थापनमा गर्न लागिएको पहिलो कार्यक्रम हो ।”स्वास्थ्य चौकी इन्चार्ज घिमिरले भन्नुभयो,“कार्यक्रमबाट बिरामीको पहिचान सहित जोखिममा रहेका बिरामीहरुलाई नियमित स्वास्थ्य परीक्षणको दायरामा ल्याउने हो ।”

वडाका काभ्रे भराभरी, चौर, च्याङलुङ, खैमराङ, खाँदरजुङ, बाँझोखेत, गैहखोर, भुर्जुङखोला, कसेरी र बसपार्कमा स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम तय गरिएको स्वास्थ्य चौकीका अहेव शिव केसीले जानकारी दिनुभयो । उहाँले कार्यक्रम पुसको १६ गतेसम्म सञ्चालन हुने र पहिचान भएका बिरामीहरुलाई महिनामा एक पटक स्वास्थ्य संस्थामा बोलाएर परीक्षण गरिने बताउनुभयो ।

स्वास्थ्य चौकीको कार्यक्रमलाई जनप्रतिनिधि वडामा रहेका सङ्घ संस्था,विद्यालय,टोल सुधार समिति लगायतबाट समेत सहयोगको प्रतिवद्धता प्राप्त भएको बताइन्छ ।

वडाध्यक्ष विक्रम गुरुङले स्वास्थ्य चौकीको अभियानलाई वडा कार्यालयबाट समेत आवश्यक सहयोग उपलव्ध गराउने विश्वास दिलाउनुभयो । उहाँले मानिसको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै वडाका सबै नागरिकसम्म पुग्ने गरी स्वास्थ्य परीक्षणको कार्यक्रम सञ्चालनले रोग लाग्नबाट बचाउने उल्लेख गर्नुभयो ।

Comments
Loading...