तत्काल विद्यालय नखोल्ने निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय नखोल्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड १९) कारण ९ महिनादेखि बन्द रहेका विद्यालय अझै केहि समय नखोल्ने महानगरले निर्णय गरेको हो ।

केहि विद्यालयले विद्यालय खोलेर पठनपाठन शुरु गर्ने तयारी गरिरहेका बेला महानगरले तत्काल विद्यालय खोल्नु जोखिम हुने भन्दै नखोल्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

विद्यालय खोल्ने÷नखोल्नेबारे निर्णय गर्न महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग छलफल गरेको थियो ।

छलफलमा सहभागिहरुले तत्काल विद्यालय खोल्दा कोभिड संक्रमण बढ्न सक्ने निश्कर्ष निकालेको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । ‘कोभिड नियन्त्रणमा नआईसकेकाले विद्यालय खोल्न हतार गर्नु हुँदैन भन्ने निश्कर्ष आयो’ उहाँले भन्नुभयो ।

बैठकपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जाडो मौसममा कोभिडको जोखिम बढ्नसक्ने भएकाले तत्काल विद्यालय नखोल्ने निर्णय भएको बताए । अहिले अनलाइन कक्षाहरुलाई नै प्रभावकारी बनाएर जाने निर्णय भएको जानकारी दिनुभयो ।

Comments
Loading...