गण्डकी प्रदेशमा फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकूद नहुने

हिमाली आवाज । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखी गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उहाँले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,“नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखी गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन,अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ ।”

सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकूदको तयारी गरिने समेत स्पष्ट पार्नुभयो ।

कोरोनाका कारण लामो समय देशभित्र खेलकूद प्रतियोगिता रोकिएकामा सरकारबाट स्वास्थ्य मापण्डको पालना गर्ने गरी अभ्यास र प्रशिक्षण शुरु भएकामा अब प्रतियोगिता समेत सुरक्षा मापदण्ड पालना गरेर शुरु गर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

सङ्घ सरकारसँगै प्रदेश र स्थानीय तहहरुले पनि खेलकूद उत्पादनमूलक क्षेत्र हो भन्ने बुझेर खेल पूर्वाधार तथा खेलाडी उत्पादनमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Comments
Loading...