मदन भण्डारी स्पोर्टस् एकेडेमीबाट पोखरामा स्वर्ण विजेता खेलाडीलाई सम्मान

हिमाली आवाज । मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडी सहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घ संस्थाहरुलाई नगद सहित सम्मान गरिएको छ ।

बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई जनही रु ५१ हजार ५०० सहित राखेप सदस्य सिलवाल, एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ तथा गण्डकी संयोजक राजेशकुमारङले सम्मान गर्नुभएको थियो ।
एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, सागका १३ विषयगत समिति, खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मानन गरेको थियो । यसैगरी पत्रकार महासङ्घ गण्डकी प्रदेश,कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि रु २१ हजारका दरले नगद तथा सम्मानपत्र सहित सम्मान प्रदान गरिएको थियो ।

वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडी तथा खेल पत्रकारहरुलाई समेत नगद सहित सम्मानित गरियो । यसैगरी प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा कराँते खेलाडी राजु गैरे(नेपाली)का परिवारलाई रु एक लाख एक हजार १११, टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई रु ५० हजार ५५० आर्थिक सहयोग प्रदान गरिएको थियो ।

पूर्व भलिवल खेलाडी तथा प्रशिक्षक समेत रहेका जीवन चौधरीलाई रु ७० हजार ७७०,राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई रु २१ हजार १११ र क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई रु ३० हजार ३३० आर्थिक सहयोग प्रदान गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले एकेडेमीले खेल क्षेत्रको पूर्वाधार निर्माण र खेल क्षेत्रमा लाग्नेहरुको हौसल अभिवृद्धिमा सहयोग गर्दै आएको बताउनुभयो ।

गण्डकी प्रदेश विधायन समितिका सभापति एवं एकेडेमीका उपाध्यक्ष मोहन रेग्मीले प्रदेश सरकारले खेलकूद विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

एकेडेमीका गण्डकी संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङले खेल सङ्घ, पदाधिकारी, सञ्चारकर्मी लगायत सबै पोखरेलीको सहयोगले साग भव्य रुपमा सम्पन्न भएको बताउँदै खेलाडी तथा सहयोगीहरुको योगदानको कदर गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

 

Comments
Loading...