दामासाहीले खर्च उठाएर खेल्न गएका खेलाडीले ‘पावर लिफ्टिङ’मा नेपाललाई दिलाए सफलता

–कृष्ण दवाडी
हिमाली आवाज । पावर लिफ्टिङका खेलाडी पोखराका हसन गुरुङले डेढ वर्षअघिदेखीनै भारतमा तय भएको ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’का लागि अभ्यास शुरु गर्नुभएको थियो ।

गुहाटीमा अघिल्लो वर्ष मङ्सिरमा निर्धारित प्रतियोगिता त्यहाँको आन्तरिक समस्याका कारण स्थगित भयो । पुनः चैत पहिलो साता तय भएको प्रतियोगिता कोरोनाका कारणले रोकिएपछि अर्को मिति अनिश्चित थियो । देशभित्र सबै खेलकूद गतिविधि ठप्प थियो भने अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको सहभागिता थिएन ।

डिसेम्वर ४ देखी ७ तारिखसम्म भारतको महाराष्ट्रको अमरावतीमा प्रतियोगिता हुने जानकारी पाएपछि हसन सहित अन्य खेलाडी उत्साहित त हुनुभयो तर सँगै चिन्ता पनि थपियो खेल्न जाने खर्च पो कसरी जुटाउने भनेर । खाने बस्ने सुविधा आयोजकको भएपनि आउने÷जाने खर्च स्थलमार्गबाट जाँदानै रु तीन लाख खर्च हुन्थ्यो ।
डेढ वर्षदेखीको परीश्रम खेर जान नदिन खेलाडी आफैले पैसा जोहो गरेर भएपनि प्रतियोगिता खेल्ने निष्कर्षमा पुगे । नेपाल पावर लिफ्टिङ एशोसिएसनका अध्यक्ष सुन्दर भुसालले व्यक्तिगत रु एक लाख उपलव्ध गराएपछि बाँकी रकम सात जनाले दामासाहीमा जुटाए र डिसेम्वर २ मा प्रतियोगिताका लागि प्रश्थान गरे ।

नेपालबाट स्थलमार्ग हुँदै २३ घण्टाको लामो यात्रापछि भारतको अमरावती पुगेका खेलाडी कोरोना कहरले खेलकूद क्षेत्र प्रभावित बनेका बेला देशलाई अन्तरराष्ट्रिय प्रतियोगितामा पदक दिलाएर खेलकर्मीको मुहारमा खुःशी ल्याउन सफल भएका छन् ।नेपाली खेलाडीले २१ औँ संस्करणको वल्र्ड पावर लिफ्टिङमा तीन स्वर्ण र एक रजत पदक जितेर कोरानाले अप्ठ्यारो अवस्थामा रहेको खेल क्षेत्रमा नयाँ उत्साह जगाएका छन् ।

“कोरोनाले कुनै पनि प्रतियोगिता नभएको अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेर नेपालको नाम राख्नु पर्दछ भन्नेमा सबै दृढ थियौँ।” च्याम्पीयनसीपमा सिनियरतर्फ ८२ दशमलव पाँच केजीमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएका गुरुङले भन्नुभयो,“आर्थिक लगायतका समस्या झेलेर भएपनि विदेशी भूमिमा खेलेर सफलता मिलेपछि राष्ट्रको झन्डा फहराउन पाउँदा खुःशीको सीमा रहेन ।”

पावर लिफ्टिङ च्याम्पीयनसीपका लागि नेपालबाट पाँच खेलाडी र दुई प्रशिक्षक सहभागी हुनुभएको थियो । हसन सहित जुनियरतर्फ आशिष आले मगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक चुम्नुभयो । सिनियरतर्फ १०० केजीमा राजेश सुवालले रजत पदक जित्न सफल हुनुभएको थियो ।
पावर लिफ्टिङ एशोसिएसन दुई वर्ष अघिमात्र राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको खेल सङ्घ हो । देशभित्र यस खेलका खासै प्रतियोगिता हुँदैनन् ।केही खेलाडीले व्यक्तिगत सम्पर्कका आधारमा विदेशमा गएर खेल्ने गरेपनि पहिलोपटक पावर लिफ्टिङ एशोसिएसनले संस्थागत रुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको हो ।

नेपालले औपचारिक रुपमा सहभागीता जनाएर अन्तरराष्ट्रिय प्रतियोगितामा प्राप्त सफलता अहिलेसम्मकै पहिलो र ऐतिहासिक हो । एशोसिएसनमा पनि पावर लिफिटङ्मा खेलाडीले पदक जितेको रेकर्ड छैन ।

प्रतियोगितामा सिनियरतर्फ रजत पदक विजेता खेलाडी सुवाल आर्थिक समस्याका कारणले प्रतियोगितामा सहभागीता अनिश्चित रहेको अवस्थामा खेलाडीले आफ्नै खर्च र मिहिनेतबाट भएपनि सहभागीता जनाएर देशको नाम अन्तरराष्ट्रियस्तरमा चिनाउन पाउँदा खुःशी लागेको बताउनुहुन्छ ।

खेलका लागि आवश्यक डाइट(पौष्टिक खानेकुरा) देखी खेल सामग्री र प्रतियोगितामा जाने खर्च समेत आफ्नै भएपनि प्रतियोगितामा सहभागी हुनुनै देशको लागि गर्वको विषय हुन्छ भनेर खेलेर सफलता मिल्दा थप आनन्द लागेको उहाँको अनुभूति छ ।

उहाँले भन्नुभयो,“हामी राष्ट्रिय खेलाडी हौँ, लामो समयदेखी प्रतियोगिताका लागि भनेर मेहनत र खर्च भएकाले कोरोनाका कारणले हामी मौका गुमाउन चाहन्नथ्यौँ । नेपालीको इज्जत जोगाएर फर्कनुपर्दछ भन्ने थियो । मिहिनेत गरे अनुसार सफलता मिल्यो, भाग्यले पनि साथ दियो ।”
खेलाडीहरुले पावर लिफ्टिङका लागि भनेर खेल सामग्री प्राप्त नभएकाले जीमका सामानबाट अभ्यास गर्दै आएको बताउँछन् । विदेशमा पावर लिफ्टिङका लागि उचाल्ने खेल सामग्री पातलो प्लेटको हुन्छ तर नेपालमा छैन ।

नेपाली टोलीका प्रशिक्षक समेत रहनुभएका एशिएन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष जीवन गिरी नेपालले पाएको सफलता ऐतिहासिक रहेको बताउनुहुन्छ । सो प्रतियोगिताका लागि शुरुआतमा २५ देशले नाम टिपाएपनि अन्तिम समयमा कोरोनाका कारण उडान समस्या लगायका कारणले ११ देशले प्रतिष्पर्धा गरेका थिए ।

शारीरिक सुगठन(बडी विल्डिङ)तर्फ भन्दा पावर लिफ्टिङमा नेपालको खेल सम्भावना बढी रहेको गिरीको भनाई छ । तर देशभित्र पावर लिफ्टिङका प्रतियोगिताहरु आयोजना गरेको खण्डमा नयाँ नयाँ खेलाडी उत्पादन हुने विश्वास गरिएको उहाँको छ ।

प्रशिक्षक गिरीले भन्नुभयो,“पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता गरेको खण्डमा धेरै राम्रा खेलाडी आउने निश्चित छ, सरकार तथा राखेपले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा यसलाई समावेश गर्नुपर्दछ, खेलाडी उत्पादनमा लाग्नुपर्दछ ।”

नेपाल पावर लिफिट्ङ एशोसिएसनले अब पावर लिफ्टिङ खेललाई देशभित्र व्यवस्थित र योजनाबद्ध हिसाबले अघि बढाउने र प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । पहिलो पटक देशको प्रतिनिधित्व गरेर खेलाडीले प्राप्त गरेको उपलव्धीबाट यस खेलको विकासमा मद्धत पुग्ने विश्वास एशोसिएसनले लिएको छ ।

एक वर्षभित्रमा देशका सात प्रदेशमा सात प्रादेशिक प्रतियोगिता गरेर प्रत्येक प्रदेशबाट पाँच जनाका खेलाडी छनोट गरेर छनोट भएकाहरुकाबीचमा राष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाएको एशोसिएसनका अध्यक्ष सुन्दर भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामी एक वर्षभित्रमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेर हाम्रा खेलाडीहरुलाई अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा खेल्ने वातावरण निर्माण गछौँ । राष्ट्रिय खेलकूदमा समेत समावेश गर्न सरकारलाई आग्रह गरेका छौँ।”

खेलाडीको सफलताबाट उत्साहित एशोसिएसनले पोखरामा कार्यक्रम आयोजना गरी खेलाडीलाई नगर परिक्रमा गरी सम्मान समेत गरेको थियो ।

Comments
Loading...