गण्डकी प्रदेशसभा बोलाउनेबारे प्रदेश प्रमुखद्वारा मन्त्रीहरूसँग परामर्श

हिमाली आवाज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश सरकारका मन्त्रीहरूसँग परामर्श गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले हिजो आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान (अजित) र सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई प्रदेश प्रमुख निवासमा बोलाएर परामर्श गर्नुभएको हो । सो अवसरमा प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल समेत सहभागी हुनुहुन्थ्यो ।

प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद्हरूले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै यसअघि, प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए ।

विपक्षी १७ जना सांसद्ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श गर्नुभएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखराबाहिर रहेकाले प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श लिनुभएको हो ।

Comments
Loading...