प्रादेशिक क्रिकेटमा स्याङ्जा विजयी,नवलपुर पराजित

हिमाली आवाज । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा स्याङ्जा विजयी भएको छ ।

गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा यही पुस ३ देखी पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा स्याङ्जाले नवलपुरलाई दुई विकेटले पराजित गरेको हो ।

अत्यन्त रोचक बनेको खेलमा अन्तिम दुई बल बाँकी छँदा स्याङ्जाले जीत निकालेको हो । टस जितेर व्याटिङ गरेको नवलपुरले ४७ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै स्याङ्जालाई जीतका लागि २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।स्याङ्जाले ४९ दशमवलव चार ओभरमा आठ विकेट गुमाएर विजयी लक्ष्य पूरा गरेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जाका लागि विष्णु पाण्डेले १०९ बलमा आठ चौका सहित ७५ रनको महत्वपूर्ण योगदान दिनुभयो ।
नवलपुरका दीपक डुम्रेले ५२ तथा सन्देश बस्नेतले ५० रनको अर्धशतक खेलेपनि आफ्नो टोलीका लागि जीत दिलाउन पर्याप्त रहेन । स्याङ्जाको बलिङमा मीलन लुइटेलले पाँत तथा विष्णु पाण्डेले दुई विकेट लिनुभएको थियो ।

स्याङ्जाका करण पंगेनीले ४१, इश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन बनाउनुभएको थियो । नवलपुरका बलरहरु कैलाश पंगेनीले तीन तथा विज्ञान गौतमले दुई विकेट लिनुभयो । खेलमा स्याङ्जाका विष्णु पाण्डे ‘म्यान अफ द म्याच’ घोषित हुनुभएकामा उहाँलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले ट्रफी पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो ।प्रतियोगिता अन्तर्गत मङ्गलबार कास्की र तनहुँकाबीचमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Comments
Loading...