माछापुच्छ्रे वडा नं २ कार्यालय र स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ को वडा कार्यालय र सार्दिखोला स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएको छ ।

वडा र स्वास्थ्य चौकी दुबै संस्थाका कर्मचारी कन्ट्याक ट्रेसिङमा परेकाले आज पुस ७ गतेदेखी अर्को सूचना प्रकाशन नभएसम्मका लागि वडा कार्यालय र स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्दिखोलामा समुदायस्तरमा संक्रमण फैलिएको आशंकाका कारण सार्वजनिक तथा सबै निजी विद्यालय बन्द र सबैलाई स्वास्थ्य सचेतना अपनाउन आग्रह गरिएको छ ।

सार्दिखोला स्वास्थ्य चौकीका इन्चार्ज अनिता घिमिरेले सार्दिखोलामा हालसम्म कोरोना संक्रमण हुनेको संख्या आठ रहेकामा तीन जना निको भएको र सक्रिय संक्रमित पाँच जना रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीका कोभिड फोकल पर्सन तथा अहेव शिव केसीले संक्रमण फैलन नदिनका लागि स्वास्थ्य सजगता अपनाउन सबैमा आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारी हाल होम क्वारेन्टिनमा रहेको बताउनुभयो ।

अहेव केसीले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवालाई व्यवस्थित गरी केही नयाँ कार्यक्रमहरु नसर्ने रोगका विरामी पहिचान तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य चौकीमै तातोपानी, चिया तथा झोलिलो खानेकुरा व्यवस्थापन लगायतका काम भइरहेको बताउनुभयो ।

Comments
Loading...