पर्यटन पुर्नउत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्न भिटोफको टोली ढोरपाटनतिर

–वासुदेव पौडेल
हिमाली आजाज । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ आजदेखि चार दिने पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ ।

कोरोनाले थलिएको पर्यटनमा गतिविधि बढाउने सन्देश प्रवाह गर्दै पूर्ववत अवस्थामा फर्काउने सोचका पर्यटनसम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहितको टोलीले कास्की, पर्वत र बाग्लुङ तीन जिल्लाका पर्यटकीय गाउँहरूमा सञ्चालित घरवासको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा बागलुङको ढोरपाटनमा सञ्चालित घरवाससहित सोही जिल्लाको गलकोटस्थित रिघा सामुदायिक घरवास, ताराखोलास्थित शिवधुरी सामुदायिक घरवास, भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरवास, पर्वतको भुक देउराली सामुदायिक घरवास, लब्सिबोट सामुदायिक घरवास र कास्कीको हेम्जाकोट सामुदायिक घरवासमा पुगी सम्बद्ध सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिने छ ।

भ्रमण कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । गण्डकी प्रदेशको समृद्धिमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै उहाँले पर्यटनको वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध भएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुुर भट्टराईले पर्यटन क्षेत्रलाई सबैको साथ सहयोगमा पुनःउत्थान गरिनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्यनाथ पहारी र उदय सुवेदीले प्रवद्र्धनात्मक भ्रमणले थलिएको पर्यटनमा नविन उर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भिटोफ गण्डकीका अध्यक्ष अधिकारीका अनुसार प्रकृति र संस्कृतिमा सम्पन्न गण्डकी प्रदेशमा तीन सय भन्दा बढी घरवास सञ्चालित छन् । हिमालदेखि तराईसम्म समेटिएको गण्डकी प्रदेशमा नेपालमा नै पहिलोपटक घरवास सञ्चालित सिरुवारी नमूना सामुदायिक होमस्टे सहितका होमस्टेले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गरेका छन् ।

Comments
Loading...