संसद विघटन राजा ज्ञानेन्द्र र महेन्द्रको भन्दा खतरनाक ‘कू’ : नेता गुरुङ

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले संसद विघटन तत्कालीन राजा ज्ञानेन्द्र र महेन्द्रको भन्दा पनि खतरनाक ‘कू’ भएको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको निर्णयलाई रोक्न नसकेको खण्डमा राष्ट्रिय स्वाधिनता र अखण्डतानै खतरामा पर्ने भनाई नेता गुरुङको छ ।

नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकलाई आज पोखरामा सम्वोधन गर्दै उहाँले संसद विघठनको सिफारिस असंवैधानिक र अलोकतान्त्रिक रहेकाले संविधानको रक्षाका लागि संसद पुर्नःस्थापनाको विकल्प नरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो,“प्रधानमन्त्रीले संसद विघठनको जुन निर्णय गर्नुभयो यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थानै धरापमा पर्ने देखिएको छ । यसबाट राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र कानूनी राज्यलाई कमजोर बनाएको छ ।”

विघठित प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक समेत रहनुभएका नेता गुरुङले सडक आन्दोलनबाटनै विघठित संसद पुर्नःस्थापना गरिछाड्ने दावी गर्दैै आफ्नो पार्टी सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

नेकपा नेता देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री ओलीलाई कुनै पनि घेरावन्दी नभएको दावी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम संसद विघठनको कार्य संविधान विपरित रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा नेकपा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे, नेता चुडामणि जंगली लगायतले असंवैधानिक कदमका विरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताउनुभएको थियो ।

बैठकले आगामी पुस १४ गते पार्टीले तय गरेको विरोध प्रदर्शनलाई गण्डकी प्रदेशका ११ वटै जिल्लामा सशक्त बनाउने र सबै जिल्ला तथा स्थानीय तहमा समेत भेला आयोजना गर्र्ने निर्णय गरेको प्रदेश कमिटी सदस्य राजकाजी गुरुङले जानकारी दिनुभयो । बैठकमा प्रदेश कमिटीका बहुमत सदस्य सहभागी रहेको सो पक्षले दावी गरेको छ ।

Comments
Loading...