ओलीले घोषणा गरेको चुनाव गर्नका लागि होइन : नेता पौडेल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्र्मा ओलीले संसद विघठन गरी चुनावको घोषणा गर्नुको कुनै अर्थ नभएको बताउँदै चुनाव गर्नकै लागि चुनाव घोषणा नभएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कास्की जिल्ला कमिटीका अगुवा कार्यकर्ता भेलालाई आज पोखरामा सम्वोधन गर्दै उहाँले आफ्नै पार्टी र जनताको भावना विपरित संसद विघटन भएको भन्दै ओलीले कुनै पनि हालतमा निर्वाचन नगराउने ठोकुवा गर्नुभयो ।

नेता पौडेलले पार्टीका नेता कार्यकर्ताको भावनालाई प्रधानमन्त्री ओलीले पहिलाका अञ्चलाधीशले जसरी लत्याइदिने गरेको आरोप लगाउँदै ओली नेतृत्वको सरकारलाई पार्टीबाट पूर्ण सहयोग भएको र राम्रा कामको समर्थन गरिएको बताउनुभएको छ ।

पार्टीले सरकारका काममा कहिल्यै पनि असहयोग नगरेको भएपनि जनताका समस्या समाधानमा सरकारले ध्यान नदिएको जिकिर गर्नुभयो ।
विघठित प्रतिधिनिसभाका सांसद समेत रहनुभएका नेता पौडेलले भन्नुभयो,“सरकारका राम्रा काममा जहिलेपनि पार्टी साथमा थियो तर जनताका पक्षमा र सुशासन स्थापनामा सरकारले काम गर्न सकेन ।”

नेता पौडेलले जनताको अभिमतबाट स्थापना भएको प्रतिनिधिसभाको विघठन असंवैधानिक र अलोकतान्त्रिक रहेको टिप्पणी गर्दै केही दिनअघि सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले चूनौतीको सामना गर्दै जनतामा जाने निर्णय गरेको जानकारी दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले संसद विघठन गरेर ओलीले कम्युनिष्ट पार्टीमा केशरजंग रायमाझीपछिको गद्धारी गरेको आरोप लगाउनुभयो ।
केन्द्रीय सदस्य चुडामणी जंगलीले पार्टी र जनतासमक्ष सँधै झुट बोल्ने केपी ओलीलाई आन्दोलनका बलबाट ठेगान लगाउनुपर्ने बेला आएको बताउनुभयो ।

केन्द्रीय सदस्य सीता गिरी ओलीले देशमा अस्थिरता निम्ताउनका लागि ओलीले जानीबुझीकन संसद विघटन गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा कास्कीका सचिव बखानसिँह गुरुङ, धनराज आचार्य लगायले संसद विघटनको असंवैधानिक कमदका विरुद्ध कास्की जिल्लामा सशक्त आन्दोलन गर्ने बताउनुभएको थियो ।

Comments
Loading...