ओलीको प्रतिगमन खारेज गर्न नसके देशमा संकटकाल : नेता गुरुङ

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधिसभा विघटनलाई सच्चाउन नसके देशमा संकटकाल लागू हुने आशंका व्यक्त गर्नुभएको छ ।

उहाँले संकटकाल लागू गरेर संविधानको सबै धारा निस्कृय हुने र देश फासीबादको दिशामा जाने भन्दै संसद पुनःस्थापनाको विकल्प नभएको उल्लेख गर्नुभयो।
नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अदालतले असंवैधानिक कदमका विपक्षमा फैसला गर्ने र संविधानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो । सर्वोच्च अदालतले प्रधानमन्त्रीको संसद् विघठनको विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताउनुभएको छ ।

विघठित प्रधिनिधिसभामा नेकपाका प्रमुख सचेतक समेत रहनुभएका नेता गुरुङले प्रधानमन्त्रीको कमदलाई अदालतले निरन्तरता दिएको खण्डमा भने आगामी दिनमा समेत संसदको सार्वभौम अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुन जाने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“सरकार बन्न नसकेको अवस्थामा बाहेक संविधानमा संसद् विघटन र मध्यावधी निर्वाचनको परिकल्पना गरिएको छैन, हामीलाई आशा र विश्वास छ सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सच्चाउने छ ।”नेता गुरुङले विदेशी हस्तक्षेपका विरुद्ध राष्ट्रिय अस्मिता र स्वाधीनताका लागि सबै देशभक्तहरु एक ढिक्का भएर जुध्नुपर्ने अवस्था आएको समेत बताउनुभयो ।

नेकपा नेता देवेन्द्र पौडेलले पार्टीको विधान र नियमावली विपरितका गतिविधि गर्न नहुनेमा जोड दिँदै संविधानको रक्षाका लागि आफूहरु आन्दोलित भएको बताउनुभयो । प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले प्रतिनिधिसभाको नियमित अधिवेशन आह्वान गरी बैठक सुचारु गर्न प्रदेश समितिको बैठकले माग गर्ने लगायतका विभिन्न आठ बुँदे प्रश्ताव पारित गरी बैठक सम्पन्न भएको बताउनुभयो ।

गण्डकी प्रदेश कमिटीका २१६ जना सदस्य मध्यमा आफूहरुको बैठकमा ११० जना बहुमत सदस्य प्रत्यक्ष उपस्थित भएको उहाँले दावी गर्नुभयो ।

Comments
Loading...