पोखरामा नेकपाको विरोध प्रदर्शन , ओलीको पनि सडकमा आउने पालो आउँदैछ : नेता पाण्डे

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले आज पोखरामा संसद विघटनको विरोधमा विरोध प्रदर्शन गरेको छ ।

नेकपाको ७७ वटै जिल्लामा असंवैधानिक संसद् विघटनको विरोधमा आयोजना गरिएको विरोधसभा अन्तर्गत पोखराको चिप्लेढुुँगाबाट जुलुस निकालेर पृथ्वीचोकमा विरोधसभा आयोजना गरिएको थियो ।

विरोधसभालाई नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतका नेताहरुले संवोधन गर्दै संसद् विघटनका विरुद्धमा आगामी दिनमा सशक्त कार्यक्रम ल्याउने बताएका थिए ।

सभामा नेता पाण्डेले संसद विघटनसँगै प्रधानमन्त्री ओलीको ओरालो यात्रा शुरु भएको जिकिर गर्दै अर्काको सेटिङमा विघटन गरिएको आरोप लगाउनुभयो ।
संसद विघटन सामान्य षड्यन्त्र नभएको भन्दै उहाँले केही समयपछि ओलीको पनि सडकमा आउनुपर्ने बाध्यता सिर्जना हुने दावी गर्नुभयो ।
“संविधानले सँधै संसद् रहने कुराको सुनिश्चितता गरेको छ र विघटनको गर्न पाउने व्यवस्था छैन ।” नेता पाण्डेले भन्नुभयो,“कानून,संविधान, अनुसार अदालतबाट सुझवुझ र विवेकपूर्ण निर्णय हुनेछ भन्ने विश्वास छ ।”

नेता पाण्डेले दुई तिहाई बहुमतमा रहेकाले प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको आफूहरुको पार्टीलेनै निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गर्ने र चुनाव चिह्न पनि आफूहरुकै हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले संविधानमा उल्लेख भएअनुसारको आवधिक निर्वाचनमा सहभागी हुन तयार रहेको बताउँदै पहिले संसद् पुनःस्थापना हुनुपर्ने बताउनुभयो ।

संविधानविद् एवं नेकपाका नेता खिमलाल देवकोटाले विगतमा पटक÷पटक भएका संसद् विघटनका नमिठा पाठहरुबाट शिक्षा लिएर हालको सुधारिएको संसदीय प्रणालीमा प्रधानमन्त्रीले विकल्प रहँदासम्म संसद् विघटन गर्न नपाउने प्रावधान राखिएको बताउँदै संसद्ले सरकार बनाउन सक्ने अवस्था रहँदासम्म विघटनको कुनै गुञ्जायससम्म नरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु राजकाजी गुरुङ,सीता गिरी ओली, बखानसिँह गुरुङ,धनराज आचार्य लगायतले जिल्लामा निरन्तर आन्दोलनका कार्यक्रम गरिने बताउनुभएको थियो ।

Comments
Loading...