लागुऔषध सहित सासू–बुहारी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरबाट सासू–बुहारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो ।

मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उहाँले भन्नुभयो,“सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।”

लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

Comments
Loading...