शीर्ष नेताहरु स्वार्थमा लाग्दा कम्युनिष्ट आन्दोलन संकटमा : नेता विश्वकर्मा

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एंवम पूर्व युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले शिर्ष नेताहरुका कारण संकटमा परेको नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने अभिभारा युवाहरुको काँधमा आएको बताउनुभएको छ ।

बुधबार पोखरा १८ वडाकमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री विश्वकर्माले पार्टीका शीर्ष तहका नेताहरु आत्मकेन्द्रीत भएर निहीत स्वार्थमा लाग्दा नेपालको कम्युनिष्ट आन्दोलनमा संकट आउनु दुर्भाग्यपूर्ण परिस्थिति भएको उल्लेख गर्नुभयो ।

अहिले पार्टीले लिएको जनताको बुहदलिय जनबादको नीति, विचार, सिद्धान्त र मूल्यमान्यताहरुलाई आत्मसाथ गरेर नै नेपालको कम्युनिष्ट आन्दोलनले उचाई हासिल गरेकाले यसलाई नै निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य दीपक पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिने, घेराबन्दी गर्ने, असहयोग गर्ने र भएका कामहरुको पनि सकारात्मक प्रचार नगर्ने जस्ता गतिविधि बढ्दै जादा आजको दुर्भाग्यपूर्ण स्थिति आएको बताउँदै सही र गलतको फैसला गर्ने जिम्मा जनताको भएको उल्लेख गर्नुभयो ।

भेलामा वडाकमिटी अध्यक्ष पुस्कलबहादुर थापाले सराङ्कोटबासीको साथमा सराङ्गकोट वडा कमिटि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेलामा पोखरा वडा नं १८ का युवा तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...