पोखरा,१७ पुस । प्रेस संगठन नेपाल कास्कीको जिल्ला भेला आज पोखरामा सम्पन्न भएको छ । पत्रकार महासंघ कास्कीको सभाहलमा भेला आयोजना गरिएको हो ।
भेलामा पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले सञ्चारकर्मीहरु समाजको सचेत वर्ग रहेकाले संविधानमा भएका प्रावधानहरुको अध्ययन गरी वास्तविक समाचार सम्प्रेशण गर्नुपर्ने बताउनुभयो ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस गैरसंवैधानिक रहेको बताउँदै उहाँले संविधानमा प्रधानमन्त्रीलार्ई संसद विघटनको अधिकार नरहेको चर्चा गर्नुभयो ।
नेपालको संविधान २०७२ मा संसद् विघटनको परिकल्पना नगरिएको बताउँदै संसदबाट प्रधानमन्त्री निर्वाचित हुन नसकेको अवस्थामा मात्र विघटन हुन सक्ने उहाँले उल्लेख गर्नुभयो ।
वरिष्ठ पत्रकार कोमलनाथ बरालले पत्रकारहरुले सत्य तथ्य समाचार निर्धक्कका साथ जनतामा लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक आचार्य, पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, सल्लाहकार नवराज सुवेदी, अग्रज पत्रकार राजु भण्डारी,प्रेस संगठनका सहसंयोजक सन्देश श्रेष्ठ लगायतले विभिन्न खालका भ्रम र अफवाह फैलिरहेको अवस्थामा सही र तथ्यमुलक समाचार सम्प्रेश गर्नु दायित्व पत्रकारको रहेकामा जोड दिनुभएको थियो ।