ओलीको ‘कु’ राजा महेन्द्र र ज्ञानेन्द्रपछिको तेस्रो संस्करण : नेता करण

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन असंवैधानिक र लोकतान्त्रिक मुल्य मान्यता माथिको प्रहार भएको बताउनुभएको छ ।

नेकपा प्रचण्ड–माधव पक्षको पोखरा महानगर कमिटीको बिस्तारित बैठकलाई आज सम्वोधन गर्दै उहाँले केपी ओलीको कदम राजा महेन्द्र र ज्ञानेन्द्रपछिको तेस्रो संस्करणको ‘कु’ रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीको दिमागले मात्र संसद विघटन नभएको भन्दै उहाँले यसका विरुद्ध कम्युनिष्ट काँग्रेस लगायतका सबै दल एकतावद्ध भएर संसद पुनःस्थापनाका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस संसद पुनःस्थापना विरुद्ध बोल्न नसक्नु काँग्रेसका लागि सत्ता मोह र राजनीतिक नियुक्तिमा कति मोह रहेछ भन्ने स्पष्ट भएको दावी नेता करणको छ ।

नेकपा केन्द्रीय सदस्य श्रीनाथ बरालले एमसीसी पास गर्ने ग्राण्ड डिजाईन अनुसार ओलीले पार्टी र संसद विघटन गरेको आरोप लगाउनुभयो । ओलीको महत्वकांक्षा बुझेर विदेशीले ओलीलाई गोटी बनाएको बताउँदै उहाँले संसद पुर्नस्थापना नभए देशमा चुनाव नहुने बताउनुभयो ।

कार्यक्रममा महानगर कमिटीका सचिव विश्वप्रकाश लामिछाने, युवा नेता पूर्ण लामा लगायतले बोल्नुभएको थियो ।

Comments
Loading...