माछापुच्छ्रे गाउँपालिकाको आठौँ गाउँसभा शुरु

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आठौँ गाउँसभा शुरु भएको छ ।गाउँपालिका अध्यक्ष कर्ण बहादुर गरुङको अध्यक्षतामा शुरु भएको गाउँसभामा तीन वटा विधेयकहरु प्रस्तुत भएका छन् । 

गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एवम् वन, वातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक हरिश्चन्द्र ढुङ्गानाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र माछापुच्छ्रे गाउँपालिका स्थानीय जलस्रोत विधेयक, २०७७ गाउँसभामा प्रस्तुत गर्नुभयो ।

यसैगरी वडा नं. ३ का वडा अध्यक्ष एवम् विधायन समितिका संयोजक सूर्य प्रसाद लम्सालले गाउँ युवा परिषद् सञ्चालन सम्बन्धी विधेयक, २०७७ सभामा प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष गुरुङले पर्यटन,कृषि,उर्जा र पूर्वाधार विकासका माध्यबाट गाउँपालिकालाई समृद्ध बनाउने योजना अनुसार आफूहरु अघि बढिरहेको बताउनुभयो ।

सभामा पेश भएका विधेयक उपर अध्ययन गरी सुझाव सहित प्रस्तुत हुने गरी गाउँसभा आगामी माघ ४ गते बस्ने गरी स्थगित भएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो ।

Comments
Loading...