फागुन तेस्रो सातादेखी गण्डकी प्रदेशमा पर्वतीय खेलकूद महोत्सव

हिमाली आवाज । गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखी पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ ।

माउण्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दीगो पर्यटनको प्रर्वद्धनको लक्ष्य सहित आठौँ संस्करणको महोत्सव आयोजना गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य समेत रहनुभएका महोत्सवका संयोजक सुवर्ण श्रेष्ठले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा परम्परागत आर्चरी, ठेलो,रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगायतका १५ खेलहरु समावेश गरिएको छ ।

चैत २० गतेसम्म आयोजनाका लागि प्रश्ताव गरिएको महोत्सवमा ट्राइयाथोलन र रिङ रेस्लिङमा अन्तराष्ट्रिय खेलाडीहरु समेत सहभागी बन्ने आयोजकले जनाएको छ । रिङ रेस्लिङमा जापान,मलेसिया, सिँगापुर, भारत,अमेरिका लगायतका देशबाट खेलाडीले प्रतिष्पर्धा गर्ने बताइन्छ ।
महोत्सवमा एक हजार ५०० हाराहारीमा खेलाडी तथा ५०० अफिसियलको सहभागिता रहने दावी आयोजकको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरा सहित मुस्ताङ, बाग्लुङ, तनहुँ,स्याङ्जा र लमजुङमा महोत्सव अन्तर्गतका खेलहरु सञ्चालनका लागि प्रश्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नेपाललाई माउन्टेन स्पोर्टस हवको रुपमा स्थापित गर्ने उद्धेश्य सहित महोत्सव गर्न लागेका हौँ । गण्डकी प्रदेशमा यसको सफल आयोजनाले यस क्षेत्रमा कोभिड–१९ले तहस नहस बनाएको पर्यटनलाई अघि वढाउन थप सहयोग पुग्ने र पर्वतीय खेलकूद विकासमा मद्धत पुग्छ भन्ने विश्वास छ ।”

महासङ्घका प्रदेश संयोजक समेत रहनुभएका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ गण्डकी प्रदेशमा आयोजना गर्न प्रदेश सरकार समेत निकै उत्साहित भएको बताउँदै पर्यतीय खेलकूदमा अग्रणी गण्डकी प्रदेशलाई महोत्सवले विश्वसामु थप चिनाउने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवका लागि सम्वन्धित खेल सङ्घका प्रतिनिधी सम्मिलित १७ सदस्सीय व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सव सम्पन्न गर्न रु एक करोड ८८ लाख खर्च हुने अनुमान रहेको र राष्ट्रिय खेलकूद परिषद, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाहरुवाट सहयोग प्राप्त हने विश्वास लिइएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो ।

राखेपका सदस्य गोविन्द भट्टराईले पर्यटको राजधानी गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवले कोरोनाका कारण एक वर्षदेखी सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःजागरण ल्याउन र खेल पर्यटको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

Comments
Loading...