‘संक्रमित १० दिन आइसोलेशनमा बसेपछि पुनः कोराना परीक्षण गर्नु पर्दैन’

काठमाडौँ । कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको नाममा केही बिरामीले राष्ट्रको स्रोतसाधन दुरुपयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो गरेको छ ।

कतिपय संक्रमित भएर स्वास्थ्य अवस्था जटिल हुँदा पनि स्वास्थ्यकर्मी सम्पर्कमा पुग्न नसकेको अवस्थामा केही संक्रमितले भने स्वास्थ्य अवस्था सामान्य बन्दा समेत अस्पतालबाट डिस्चार्ज हुन नमानेको मन्त्रालयको गुनासो छ ।

संक्रमित स्वास्थ्य अवस्था सामान्य बन्दै गएपनि रिपोर्ट नेगेटिभ आउन्जेल डिस्चार्ज हुन नमानेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै कोभिड—१९ संक्रमण भएका कतिपय बिरामी स्वास्थ्य अवस्था गम्भिर भएपछि मात्रै अस्पताल पुग्ने गरेको पनि मन्त्रालयले जनाएको छ ।

अझ संक्रमणकै कारण स्वास्थ्य विग्रदै जाँदा स्वास्थ्यकर्मीको सम्पर्कमा समेत नआएको मन्त्रालयको भनाइ छ ।यस्तै केही व्यक्तिले कोभिड—१९ को परीक्षण अनावश्क रुपमा गर्दै आएको पाइएको पनि मन्त्रालयले जनाएको छ । कोभिड पुष्टि भएका तर, लक्षण चिन्ह नदेखिएका व्यक्तिहरुले १० पछि कुनै परीक्षण बिना सावधानी अपनाएर दैनिक जीवनयापन फर्किन सकिने मापदण्ड भएपनि अनावश्यक कोरोना परीक्षण गरेको भन्दै मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Comments
Loading...