संसद् विघटनविरुद्ध उत्रिए पोखरेली कलाकार र साहित्यकार

रुपिन्द्र प्रभावी
हिमाली आवाज । पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे ।

कार्यक्रममा मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिक इसारामा केपी ओलीले संसद् विघटन गरेका भन्दै देश र जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उद्घोष गर्नुभयो । केही मात्रामा भए पनि जनपक्षीय रहेको संसद् विघटन गरेको बताउँदै गाउँलेले अब सङ्घीय जनगणतन्त्र र समाजवादसम्म पुग्नका लागि जनवादी शक्तिहरु अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

माक्र्सवादी चिन्तक तथा लेखक रामराज रेग्मीले यसअघिका संविधानहरुको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको बताउँदै यसलाई अपहरण गर्ने काम ओलीबाट भएको धारणा राख्नुभयो । ओलीको कदमलाई २०१७ मा राजा महेन्द्रले गरेका ‘कू’सँग तुलना गर्दै रेग्मीले २०४७ को संविधानलाई उत्कृष्ट संविधान भनेर प्रचारबाजी गर्नेहरु नै अहिलेको संविधान कुल्चनेहरु भएको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलकपाणि तिवारीले सजग हुन नसके अनेकौँ सङ्घर्ष गरेर ल्याएको उपलब्धीहरु गुम्ने खतरा औँलयाउँदै यो घटना ताजा जनादेशका लागि आएको नभई नेपाली जनताको उपलब्धीलाई अन्त्य गर्ने र नेपाललाई नयाँ ढङ्गले प्रतिगमनतिर लैजाने षड्यन्त्रका रुपमा आएको उहाँको भनार्ई छ ।

प्रगतिशील लेखक सङ्घका सल्लाहकार तथा गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कतिपय लेखक, कलाकारहरु खाइपाइ आएको सुविधा खोसिन्छ कि भनेर ओलीको कदमलाई समर्थन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रा. डा. शोभाकान्त लामिछानेले केपी ओलीलाई जुन संविधान र संसद्ले प्रधानमन्त्री बनायो, त्यसैमाथि ‘कू’ गर्नु आमाकै चिरहरण गर्नु भएको बताउनुभयो ।

साहित्य शृङ्खला, पोखराका पूर्व अध्यक्ष यादवराज उपाध्यायले कवि, लेखकहरु नै ढुलमुले भएर बसेको र अवसरको लोभमा गलतलाई सही भनेर हिँड्ने गरेकामा भत्र्सना गर्नुभयो ।

मञ्चका सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा काजी गाउँले, विकास लुङ्गेली, रोशन लामा, डी. बी. बान्तवा, खेम लामा, रेशम बी. सी. र रोशन गुरुङले साङ्गीतिक प्रस्तुति राख्नुभयो भने कविहरु सुरज उपाध्याय र छविलाल आचार्यले कविता प्रस्तुत गर्नुभएको थियो ।

 

Comments
Loading...