सरकारले ६० लाख नागरिकका लागि भारतसँग खोप किन्ने तयारी

काठमाडौँ । कोभ्याक्सबाट प्राप्त हुने खोप आउनुभन्दा पहिला नै सरकारले २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गरेको छ।

कोभ्याक्सको खोप सन् २०२१ को पहिलो चौमासिकपछि मात्रै आउने जानकारी पाएकाले त्यसअघि नै खोप किनेर जनतालाई लगाउने योजना बनाएको स्वास्थ्य मन्त्रालयका कोरोना खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताउनुभयो । कोभ्याक्स सुविधाबाट पनि २० प्रतिशत जनतालाई पुग्ने खोप आउँछ।

सरकारले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतको सेरम इन्स्टिच्युट इन्डियाले उत्पादन गरिरहेको एस्ट्राजेनेका र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खरिदका लागि छलफल गरिरहेको छ।

यी भ्याक्सिनले भारतमा इमर्जेन्सी भ्याक्सिनेसनका लागि अनुमति पाइसकेका छन् । नेपालले मूल्यलगायत विषयमा औषधि उत्पादक कम्पनीसँग समन्वय गरेर सहजीकरण गरिदिन भारतलाई आग्रह गरेको थियो ।

तापक्रम मिल्ने र नेपालले स्टोरेज गर्न सक्ने भएकाले पनि यी दुई कम्पनीका खोप ल्याउन सरकारले द्विपक्षीय छलफल गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा ।

Comments
Loading...