पोखरा अन्तरराष्ट्रिय म्याराथन फागुन १ मा,महिलाका लागि हाफ म्याराथन थपियो

हिमाली आवाज । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तरराष्ट्रिय म्याराथन’को १५ औँ संस्करण आगामी फागुन १ गते शनिबार हुने भएको छ ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यसवर्ष पनि निरन्तरता दिइएको मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जनाएको छ ।

म्याराथनको विजेताले रु दुई लाख तथा द्धितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस वर्षदेखी महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

हाफ म्याराथनमा प्रथम,द्धितीय,तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, रु ७५ हजार, रु ५० हजार र रु १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाली खेलकूदमा महिला खेलाडीहरुको भूमिकासँगै महिलालाई खेल तर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ ।

गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्वन्ध कायम भएका चीन, जापान,बेलायत लगायतका विश्वका अन्य मुलुकका खेलाडीहरुलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टहरुलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ । जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ ।

यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ ।दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्धितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिनुभयो ।

ह्लिचियर र दृृष्टिविहिनतर्फका दुबै इभेन्टमा विजेताले रु सात हजार, द्धितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् ।
यसैगरी छात्र÷छात्रा दौडमा प्रथमले रु १० हजार द्धितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने छन् ।

म्याराथनका लागि रु ५० लाख ६० हजार खर्च लाग्ने प्रारम्भिक अनुमान रहेकामा प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका सरकारी तथा निजी सङ्घ संस्थाबाट सहयोग सङ्कलन गरिने आयोजकले जनाएको छ ।

Comments
Loading...