ओली पक्षमा गएकाहरु तीन महिनाभित्र पुरानै घर फर्किन्छन् : अध्यक्ष प्रचण्ड

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्य रहेको आफ्नो पार्टीनै आधिकारिक नेकपा रहेको बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज पोखरामा सम्वोधन गर्दै उहाँले बहुमत पक्ष आधिकारिक रहने विधानमा व्यवस्था रहेको र निर्वाचन आयोगको पनि परम्परा रहेकाले आफूहरु आधिकारिक रहेकाले केही नेता कार्यकर्ता दुविधामा नपर्न आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले ओली पक्षमा गएका पूर्व माओवादी नेताहरु प्रतिगमनको साक्षी बस्न गएको उल्लेख गर्दै तीन महिनाभित्रमा पुरानै घर फर्किने दावी गर्नुभयो ।

“ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दा कसरी सहेको हो ?” दाहाले प्रश्न गर्नुभयो,“पार्टी विधानको मर्म र भावना विपरित बोलेर प्रतिगमनको कसरी साक्षी बस्न सकेको ?”

सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्ने र संसद पुनःस्थापना हुन्छ भन्नेमा आफूहरु विश्वस्त रहेकाले कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष दाहालले भन्नुभयो,“सर्वोच्चले संविधानको अक्षर,भावना र मर्मको व्याख्या गर्ने हो, आफूखुशी संशोधन गर्ने होइन । संविधानमा हुँदै नभएको व्याख्या गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन, तपाईहरु ढुक्क हुनुहोला संसद्को पुनःस्थापना भइछाड्छ ।”

अध्यक्ष दाहालले अदालतप्रति भरोसा गर्दै जनताको अदालतलाई पनि जागरुक बनाउने ऐतिहासिक आवश्यकता महशुुस भएको बताउनुभयो । साविकका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रकाबीच पार्टी एकता भएर नेकपा गठन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब पार्टीलाई पछाडी फर्काउन खोज्नु प्रतिगामी कार्य हुने भएकाले कसैले पनि त्यस्तो प्रयत्न नगर्न आग्रह गर्दै सूर्य चिन्ह आफूहरुलेनै पाउनुपर्ने बताउनुभयो ।

“माथिदेखी तलसम्म सबै पार्टी सङ्गठन विघटनको घोषणा गरेका छौँ, राजनीतिक प्रतिवेदन र विधान नयाँ बनाएका छौँ त्यही अनुसार परिचालित छौँ । अब पुनः पछाडी फर्काउने षड्यन्त्र परास्त गरी छाड्छौँ।” अध्यक्ष दाहालले भन्नुभयो ।

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले कम्युनिष्ट आन्दोलन माथि घात गरेर बाटो विराएर गएको बताउँदै गल्ती स्वीकार गरेर पार्टीमा फर्कन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“विधि,विधान र अनुशासनको पालना नगर्दामात्र पार्टी कमजोर हुन्छ, अन्तर सङ्घर्षले पार्टी कमजोर हुँदैन । गुटवादी, व्यक्तिवादी र अहङ्कार त्यागौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।”

नेता नेपालले सबै जना संविधानमा बाँधिएकाले संवैधानिक सर्वोच्चता भन्दा माथि नहुने उल्लेख गर्दै असंवैधानिक र अलोकतान्त्रिक प्रतिनिधिसभा विघटनको निर्णय अदालतले खारेज गर्ने बताउनुभयो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था र प्रणालीलाई ओलीले ध्वस्त बनाएको उल्लेख गर्दै एकजुट भएर प्रतिगामी कदमलाई परास्त गर्नका लागि आफ्नो पार्टीले संयुक्त सङ्घर्षको पहल गरिरहेको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलन र पार्टीलाई एकतावद्ध बनाउनुपर्ने प्रमुख दायित्व रहेको बताउँदै नेता श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि संविधान मिच्न नपाईने भनाई राख्नुभयो । संवैधानिक अङ्गहरुले समेत कहीँ कतैबाट पनि दवाव र प्रभावमा परेर निर्णय गर्न नहुनेमा उहाँको जोड थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेल, सहइन्चार्ज एशोदा सुवेदी, प्रदेश कमिटीका सचिव श्रीमाया थकालीले गण्डकी प्रदेशमा पार्टीलाई पहिलो शक्ति बनाउने दावी गर्नुभएको थियो । कार्यकर्ता भेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट कार्यकर्ता पोखरा आएका थिए ।

Comments
Loading...