महिला भलिबल टोलीका कप्तान अरुणा प्रदेश सरकारबाट नगद रु एक लाख सहित सम्मानित

हिमाली आवाज । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही आज पोखरामा सम्मानित हुनुभएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा गत २८ गते सम्पन्न ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा‘मा विजयी हुनुभएका उहाँलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद रु एक लाख सहित सम्मान गरेको हो ।

पश्मिाञ्चल क्षेत्रीय भबिल सङ्घले पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले सो रकम प्रदान गर्दै सम्मान गर्नुभयो ।अवार्ड विजेता तथा नेपाली महिला भलिबल टोलीलाई वर्ष २०७६ को उत्कृष्ट टोली बनाउन सफल भएकामा उहाँलाई सो सम्मान अर्पण गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद रु ११ हजार सहयोग गर्नुभयो ।
सो अवसरमा मन्त्री पुनले प्रदेश सरकार खेलकूद विकासका लागि प्रतिवद्ध भएको बताउँदै आर्थिक क्षमताले भ्याए सम्म विकासको कार्यलाई अघि बढाएको बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले नवौं खेलकूदको तयारीका लागि जुट्न आग्रह गर्नुभयो ।

यसैबीच पोखरामा सञ्चालन भएको ‘अरुणा शाही जिताउ अभियान’ बचत रकम कप्तान अरुणालाई हस्तान्तरण गरिएको छ ।अभियानबाट बचत रकम रु तीन लाख ७३ हजार ७०५ हस्तान्तरण गरिएको हो ।

सङ्कलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिबल सङ्घका सल्लाहकार नारायण प्रसाद शर्माले कूल १६ लाख ७३ हजार ७०५ सङ्कलन भएकामा भोटिङ, भलिबल खेल व्यवस्थापन लगायतमा रु १३ लाख खर्च जानकारी दिनुभयो ।

टाइगर गु्रपको सम्मान
टाइगर गु्रप नेपालले नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य राम कृष्ण ज्ञवाली र महासंघ गण्डकी प्रदेशका सचिव इन्द्र पौडेललाई सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित दया शंकर पालिखे पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएका ज्ञवाली र सिर्जना विकास केन्द्रको अध्यक्षमा निर्वाचित पौडेललाई सम्मान गरिएको हो । मन्त्री पुनले पत्रकारद्वय ज्ञवाली र पौडेललाई सोही कार्यक्रममा सम्मान गर्नुभएको थियो ।

Comments
Loading...