माछापुच्छ्रे गाउँपालिकाको आठौँ गाउँसभाबाट तीन विधेयक पारित

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आठौँ गाउँसभाले सर्वसम्मत रुपमा तीन विधेयक पारित गरेको छ ।

पुस १७ गते शुरु भएर माघ ४ गते सम्पन्न गाउँसभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धी विधेयक, स्थानीय जलस्रोत विधेयक र गाउँ युवा परिषद् सञ्चालन सम्बन्धी विधेयक, २०७७ सर्वसहमतिले पारित गरेको गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।गाउँ सरकार सञ्चालनका लागि अत्यावश्यक कानून गाउँसभाबाट पारित गर्दै अघि बढिरहेको उहाँको भनाई छ ।

अध्यक्ष गुरुङले भन्नुभयो,“संघीय र प्रदेशले कानून नबनाउँदा कतिपय साझा अधिकार सूची अन्तर्गतका कानून बनाउन नसकेपनि हाम्रो एकल अधिकार सूची अन्तर्गत रहेका कानून निर्माण गरिरहेका छौँ । कानून अभावमा गाउँ सरकार सञ्चालनमा हालसम्म कठिनाइ परेको छैन ।”
गाउँपालिकाले “पर्यटन,कृषि,उर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ«ेको आधार”को नारा सहित अघि बढेको छ ।

पालिकामा कानून मस्यौदा गर्ने जनशक्ति नहुँदा संघीय सरकारले पठाएको नमूनाका आधारमा कानुन बनाउने गरिएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो । पालिकाले बनाएको कानून संघ र प्रदेशसँग बाझिन नहुने भएकाले पनि कतिपय कानून बनाउ ढिलाई भएको बताईन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रबाट नौ वटै वडाको केन्द्र जोड्ने सडक पक्की कालोपत्रे बनाउने योजना कार्यान्वयन शुरु गरिएको उहाँको भनाई छ ।

Comments
Loading...