गण्डकी प्रदेशमा पहिलो चरणमा निर्वाचन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा गण्डकी प्रदेश सहित प्रदेश नं २, लुम्बिनी र सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने जानकारी दिनुभएको छ ।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुराको जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित ढंगले सम्पन्न हुने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई चरणमा हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत उल्लेख गर्नुभयो ।

‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति तोकेको छ ।

Comments
Loading...