मृगौला पीडित किशोरीको उपचारमा देश विदेशबाट उठ्यो १३ लाख

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकका मृगौला पीडित १९ वर्षीया किशोरी सुस्मिता परियारको उपचारमा स्वदेश तथा विदेशबाट मनकारी मनहरुले आर्थिक सहयोग गरेका छन् ।

एकवर्षअघिदेखी दुबै मृगौलामा समस्या आएर उपचाररत पीडित किशोरीका परिवारले सहयोगका लागि याचना गरेपछि गठन गरिएको ‘सुस्मिता परियार बचाउ अभियान’बाट स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरुबाट रु १३ लाख २१ हजार ६७२ सहयोग सङ्कलन भएको छ ।
उपचार सहयोग समितिले यसअघि विभिन्न चरणमा गरी पीडितका परिवारलाई आर्थिक सहयोग गरेकामा आज बाँकी रकम रु तीन लाख ८८ हजार ७०१ बुबा आमाको उपस्थितिमा किशोरीलाई हस्तान्तरण गरिएको  अभियानका संयोजक सञ्जय लम्सालले जानकारी दिनुभयो ।

सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा काँङ्ग्रेस नेतृ टेकन शोभा गुरुङले रु २१ हजार र जनता समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष जगत गुरुङले रु २२ हजार १०५ आर्थिक सहयोग प्रदान गर्नुभयो ।

किशोरीका बुबा सुरेश परियारले छोरीको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको र सबैको साथ र सहयोगबाट छोरीले पुनःजन्म पाउने आशा व्यक्त गर्दै सहयोगी मनहरुप्रति आभार व्यक्त गर्नुभयो । मृगौला प्रत्यारोपणका लागि केही दिनमा छोरीलाई काठमाडौँ लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

किशोरीको जीवन रक्षा र उपचारमा सहयोगका लागि विदेशमा समेत सहयोग अभियान सञ्चालन गरिएको थियो । अभियन्ता जिएम रानाभाट लगायतले रकम उठाने कार्यको संयोजन गर्नुभएको थियो ।

Comments
Loading...