निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै माछापुच्छ्रे गाउँपालिका

हिमाली आवाज । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन जिल्लाको कास्कीको माछापुच्छ्रे गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले लोकसेवा प्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन गाउँपालिका भित्र स्थायी बसोबास भएका महिला तथा युवतीहरुका लागि तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रम अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी(नायव सुव्वा) र राजपत्र अनङ्कित द्धितीय श्रेणी(खरिदार) वा सो सरहको परीक्षाका लागि ३० जना युवती तथा महिलालाई एक महिनाको निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताउनुभयो ।

छिमेकी जिल्ला तथा पालिकाहरुको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागीताका लागि माघ १४ सम्म खुला आवेदन आह्वान गरिएको र माग सङ्ख्या भन्दा बढी आवेदन परेमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षण परीक्षामार्फत गरिने बताउनुभयो ।

उपाध्यक्ष दवाडीले भन्नुभयो,“कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिन सक्ने अवस्था नरहेकाले उनीहरुलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ । राष्ट्रसवेक कर्मचारीमा स्थानीयको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।”

Comments
Loading...