माछापुच्छ्रे माविको व्यवस्थापन समितिको अध्यक्षमा बमबहादुर गुरुङ चयन

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा व्यवसायी एवं समाजसेवी बमबहादुर गुरुङ चयन हुनुभएको छ ।

विद्यालयमा आज भएको भेलाले गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा नौ सदस्सीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
यसैगरी व्यवस्थापन समितिको सदस्यहरुमा गणेश आचार्य, धनकुमारी गुरुङ, टेकराज आचार्य, सुमन श्रेष्ठ, शान्ता नेपाली, निलराज आत्रेय र शिक्षक प्रतिनिधिमा मातृका आचार्य चयन हुनुभयो । सदस्य सचिवमा भने विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य रहनुभएको छ ।

माछापुच्छ«े मावि गाउँपालिकाको मात्र नभई कास्की जिल्लाकै नमूना विद्यालयको रुपमा पहिचान स्थापित गरेको छ । कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमणका अवधिमा समेत विद्यालयले अवलम्वन गरेको सिकाई प्रणालीको सर्वत्र प्रशंसा भएको थियो ।
यसैगरी विद्यालयले बन्दाबन्दीका अवधिमा तयार पारेको स्वअध्ययन सामग्री देशका अन्य जिल्लामा समेत पुगेको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि अध्यक्ष गुरुङले विद्यालयलाई शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधारका हिसावले थप सक्षम र सुविधासम्पन्न र नमूना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हिमाली आवाजसँग कुरा गर्दै उहाँले यसअघि विद्यालयको स्वर्ण महोत्सवको संयोजक भएर प्राविधिक शिक्षाका लागि घरदैलो कार्यक्रम तथा स्वदेश र विदेशबाट गरी रु एक करोड ७६ लाख रकम संकलन गर्न सफल भएको बताउँदै विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि अब लागि पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्राविधिक शिक्षा सञ्चालन गर्न कुन विषय उपयुक्त हुन्छ त्यसका लागि एक समिती बनाएर विषय छनौट गरेर प्राविधिक शिक्षाको अध्यापन शुरु गरिने छ ।”

अध्यक्ष गुरुङले अहिलेपनि खारपानी,चौर, च्याङलुङ लगायतका गाउँका विद्यार्थीलाई विद्यालय आउन समस्या भएकाले विद्यालयको आफ्नै बसको व्यवस्था गर्ने योजना रहेको समेत सुनाउनुभयो ।

Comments
Loading...