क्यानडा पठाउने भन्दै ३३ जनाबाट एक करोड ठगी गर्ने पोखराका विक पक्राउ

हिमाली आवाज । क्यानडा पठाइदिने प्रलोभनमा पारेर झन्डै एक करोड ठगी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धिरजकुमार विश्वकर्मा रहेका छन् ।

पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ जना व्यक्तिहरुलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा रु ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनुभयो ।

अभियुक्त विकले आफू विगत लामो समय देखी विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भनेर विश्वास दिलाई कास्की, स्याङ्जा,तनहुँ, म्याग्दी लगायतका जिल्लाका युवाहरुलाई ठगी गरेको पीडितहरुले दिएको निवेदनबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

पीडितहरुलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकहरुको चेक समेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूर अन्तरगत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बताइन्छ ।

Comments
Loading...