१९ औँ संस्करणको आहा ! रारा गोल्डकप चैत १७ देखी

हिमाली आवाज । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औँ संस्करण आगामी चैत १७ देखी २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले प्रतियोगिताको तयारी शुरु गरिएको जनाएको छ ।

“खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौँ” भन्ने उद्धेश्य सहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, ए डिभिजनका क्लबहरु, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताउनुभयो ।

कोरोना भाइरस महामारी र राष्ट्रिय फुटबल टोली विश्वकप फुटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समय पछि सरेको बताइन्छ । यसअघि क्लबले पुस÷माघमा प्रतियोगिता गर्दै आएको थियो ।

प्रतियोगिताबाट कूल आम्दानी रु एक करोड ३० लाख एक हजार तथा खर्च रु एक करोड एक लाख ८१ हजार हुने अनुमान गरिएको क्लबले जनाएको छ ।

गत वर्षको संस्करण मनाङ मस्र्याङदी क्लबले जितेकामा विभागीय नेपाल पुलिस क्लब उपविजेता बनेको थियो । क्लबले आयोजना गर्ने प्रतियोगितालाई पहिलो संस्करणदेखी मुख्य प्रायोजक बनेर यहाँको व्यावसायिक प्रतिष्ठान हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट पोखरा–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिदै आइएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

एकेडेमीमा हाल तेस्रो ब्याचको १४ जिल्लाका २४ जना बालकहरु आवासीय रुपमा निःशुल्क, स्वास्थ्य शिक्षा, लगायत एकेडेमीमा फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

Comments
Loading...