पोखरामा पहिलोपटक परिचयपत्र प्राप्त गरेपछि कृषकले भने : बल्ल हाम्रो पहिचान भेटियो

–कृष्ण दवाडी
हिमाली आवाज । पोखरा महानगरपालिका–३३ भरतपोखरीका शोभाखर भण्डारी व्यावसायिक कृषक हुनुहुन्छ । दुई दशकदेखी व्यावसायिक हिसावले गाईपालन गर्दै आउनुभएका उहाँले शुक्रबार जीवनमा पहिलोपटक कृषक परिचयपत्र पाउनुभयो ।

कृषक भनेर चिनिदै आएपनि उहाँले सोको कुनै प्रमाण अहिलेसम्म राज्यबाट पाउनुभएको थिएन । उमेरले ६९ वर्ष लाग्नुभएका उहाँ अनुदान र बैँकमा ऋणका लागि कार्यालय जाँदा समेत उमेरको हदम्याद नाघेको भन्दैै फिर्ता आउनुपरेको अवस्थामा कृषक परिचयपत्र पाएपछि भण्डारीले खुःशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“निर्वाहमूखी कृषकको छोरो हुँ, व्यावसायिक कृषिमा लागेको दुई दशकपछि बल्ल परिचयपत्र प्राप्त गरेर हाम्रो पहिचान भेटियो । पेशामा अघि बढ्न हौसला मिलेको छ, कृषिमा लाग्न अझै १० वर्ष आयु बढायो ।”अर्का अग्रज कुखुरापालक कृषक तेजबहादुर भट्टराईले पनि परिचयपत्र पाएपछि उत्साह र हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो,“आफ्नो चिनारी परिचयपत्र पाएपछि खुःशी मिलेको छ ।”

गोठ तथा फार्ममा पालेका पशुपञ्क्षीका आधारमा कृषकलाई विभिन्न सात वर्गमा विभाजन गरी महानगरपालिकाले आजदेखी कृषकलाई परिचयपत्र वितरण कार्यक्रम शुभारम्भ गरेको थियो । नेपालमै पहिलोपटक परिचयपत्र वितरणको काम शुरु भएको महानगरको दावी छ ।
कृषकलाई परिचयपत्र दिएर सम्मान गर्नुपर्दछ भनेर लामो समय आवाज उठाउँदै आएका कृषकहरु परिचयपत्र हातमा परेपछि उत्साहित भएका छन् । राष्ट्रिय पशुपालक कृषक समाजका गण्डकी प्रदेश अध्यक्ष दीपक तिमिल्सिनाले आफूहरुको वर्षौअघि देखीको माग पूरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“राज्यले कृषकलाई परिचयपत्र दिएर सम्मान गर्नुपर्दछ भनेर पटक÷पटक आवाज उठाएका थियौँ । ढिलैभएपनि हाम्रो माग महानगरले सुनुवाई गरेको छ, कृषकको बल्ल आज न्वारन भएको महशुस भयो ।”प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गिकरण कार्यविधि २०७५ र महानगरपालिका पशु विकास अनुदान सम्वन्धी कार्यविधि अनुसार कृषकलाई वर्गिकरण गरी परिचयत्र प्रदान गरिएको महानगर पशु तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

पशुपालन तथा मत्स्यपालन सङ्ख्याका आधारमा महानगरले किसानलाई सीमान्तकृत कृषक, निर्वाहमूखी कृषक, साना कृषक, व्यवसायी उन्मुख कृषक, उद्यमी कृषक, विशिष्ट कृषक र सौखिन कृषक गरी सात वर्गामा विभाजन गरेको छ । सात वर्ग मध्यमा सीमान्तकृत र सौखिनवर्ग बाहेकलाई परिचयपत्र वितरण शुभारम्भ गरिएको हो ।

सरकाले वितरण गर्ने अनुदान वास्तविक कृषकले प्राप्त गर्न नसकेको र अनुदान दुरुपयोग भएको गुनासालाई अन्त्य गर्नका लागि समेत कृषक वर्गिकरण र परिचयपत्र वितरणको काम शुरु गरिएको महाशाखा प्रमुख कडरियाको भनाई छ ।उहाँले भन्नुभयो,“सक्कली किसानसम्म अनुदान नपुगेको र विचौलियाको विगविगी रहेको गुनासा अन्त्य र सरकारले गरेको लगानी सदुपयोगका लागि समेत कृषक वर्गिकरण र परिचयपत्र महत्वपूर्ण छ । वर्गिकरणमा परेका र परिचयपत्र पाएकालाई मात्र अब अनुदान लगायत सहयोग कार्यक्रम सञ्चालन गर्दछौँ । ”

भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो ४६४ वर्ग किमी क्षेत्रफलमा फैलिएको पोखरा महानगको ४० प्रतिशत क्षेत्र कृषियोग्य भूमि रहेको महानगरको तथ्याङ्क छ । ४० प्रतिशत वन क्षेत्र रहेकाले समेत यहाँ व्यावसायिक कृषि र पशुपालनको राम्रो सम्भावना रहेकाले कृषकलाई प्रोत्साहन र सम्मानका लागि समेत परिचपत्र महत्वपूर्ण रहेको बताइन्छ ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले अनुदान सदुपयोग र कृषकको सम्मानका लागि प्रदेश सरकाले कृषक पहिचान तथा वर्गिकरण कार्यविधि बनाएको स्मरण गर्दै महानगरले यसको कार्यान्वयन शुरुआत गरेकामा खुःशी व्यक्त गर्नुभयो ।

किसानको सम्मान र प्रोत्साहनका लागि समेत देशभरका कृषकलाई परिचयपत्र वितरण गरेर सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,“कृषकलाई कामको पहिचान दिने काम परिचपत्रले गरेको छ, कृषक पेन्सन तथा अनुदानका लागि समेत परिचयपत्रले सघाउ पुग्नेछ ।”
महानगर प्रमुख मानबहादुर जिसीले कृषकले उत्पादन गरेको उपजको बजारको जिम्मा महानगरले लिने बताउनुभयो ।

परिचयपत्रलाई प्रविधिमैत्री बनाइने बताउँदै उहाँले यसका आधारमा अनुदान लगायत सहयोगका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।परिचयपत्रमा कृषकको नाम,स्थायी ठेगना,सम्पर्क नं, फर्मको नाम,ठेगना, नागरिकता नं,महानगरको करदाता नं,कृषक बर्गिकृत पहिचान तथा प्यान÷भ्याट नं उल्लेख गरिएको छ ।

कार्यक्रममा विशिष्ट आठ जना, उद्यमी पाँच जना, व्यवसायी कृषक १३, व्यवसाय उन्मुख ९८ जना र साना व्यवसायिक कृषक १६४ गरी २८८ जनालाई परिचयपत्र वितरण गरिएको पशु शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो ।उहाँका अनुसार सम्वन्धित पशु सेवा केन्द्रको सिफारिसमा फार्म रहेको वडा कार्यालयमा फार्म दर्ता तथा नविकरण तथा घरेलु कार्यालयमा दर्ता गरी साना कृषकदेखी माथिका वर्गिकृत कृषकहरुलाई परिचयपत्र प्रदान गर्दै जाने योजना रहेको छ ।

पशु सेवा केन्द्रका प्राविधिक कर्मचारीले वर्गिकरणका लागि प्राप्त निवेदनका आधारमा कृषकको वर्ग कायम गरेर वडाले दर्ता गरेपछि कृषकको वर्ग छुट्टाइएको थियो ।

एउटामात्र गाई भैँसीको माउ पालेकालाई सीमान्तकृत कृषक, एक देखी चारवटा माउ हुनेलाई निर्वाहमूखी कृषक, पाँच देखी नौ वटासम्म साना कृषक तथा १० देखी २९ सम्म व्यवसायी उन्मुख कृषकमा वर्गिकरण गरेको छ ।

त्यसैगरी ३० देखी ५९ सम्म व्यवसायी कृषक, ६० देखी १४९ सम्म उद्यमी कृषक तथा १५० भन्दा माथि गाई÷भैँसीका माउ पालेकालाई विशिष्ट कृषक भनि वर्ग छुट्टाएको छ ।त्यसैगरी दुई देखी १९ वटासम्म भेडा बाख्राका माउ पालेकालाई निर्वाहमूखी, २० देखी २९ सम्म साना कृषक, ४० देखी ९९ सम्म व्यवसायी उन्मुख,१०० देखी १९९ व्यवसायी, २०० देखी ४९९ सम्म उद्यमी तथा ५०० देखी माथि पालेकालाई विशिष्ट कृषकका रुपमा वर्गिकृत गरिएको छ ।

कुखुरापालक कृषकहरुलाई १० देखी ५० सम्म निर्वाहमूखी, ५० देखी ९९९ साना कृषक, एक हजारदेखी दुई हजार ९९९ व्यवसायी उन्मुख, तीन हजारदेखी पाँच हजार ९९९ व्यवसायी, छ हजारदेखी १४ हजार ९९९ उद्यमी र १५ हजार माथिको सङ्ख्यामा पालेकालाई विशिष्टमा विभाजित गरिएको छ ।

त्यसैगरी एउटा बङ्गुर पाल्ने निर्वाहमूखी, दुई देखी तीनवटा साना कृषक,चारदेखी छ व्यवसायी उन्मुख,सातदेखी १२ व्यवसायी,१३ देखी २४सम्म उद्यमी र २५ माथि पालन गरेकालार्ई विशिष्ट कृषकमा वर्ग कायम गर्ने गरी महानगरले कार्यविधि पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको छ ।

पशु शाखा प्रमुख अधिकारीले भन्नुभयो,“कृषकले पालेका पशुका आधारमा महानगरको कार्यविधिमा उल्लेख भए बमोजिम कृषकको बर्ग पहिचान गरी उनीहरुलाई परिचयपत्र गरेका हौँ,पहिलोपटक शुरु गरिएको यस कार्यक्रमले अनुदान कार्यक्रम पारदर्शी, वैज्ञानिक र साना कृषकलाई प्रोत्साहन गर्न सघाउने छ ।”

Comments
Loading...