राष्ट्रिय माविको घटनाप्रति सरोकार समितिको ध्यानाकर्षण, विद्यालयको गरिमा जोगाउन अपिल

हिमाली आवाज । पोखरा महानगरपालिका–१ टुडिखेलमा अवस्थित राष्ट्रिय माविमा घटेको घटनाप्रति शैक्षिक सरोकार समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका अध्यक्ष चक्रपाणि सुवेदी र सचिव ऋषि भट्टराईले आज विज्ञप्ती जारी गरी कक्षा ११ को परीक्षाका सन्दर्भमा घटेको घटनाबाट परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकलाई छानविनका लागि प्रहरीले हिरासतमा लिएको अवस्थामा लामो इतिहास र गरिमा बोकेको विद्यालयलाई व्यवस्थापन समितिबाटनै विद्यालयको शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पार्ने गरी नकारात्मक राजनीतिकरण गरिएको आरोप लगाउनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिको छानविन समितिले प्रधानाध्यापक सूर्य तिवारीलाई दोशी नरहेको भनिरहँदा घटनालाई अतिरञ्जित बनाएर प्रअलाई हिरासतमा पठाइनु र सहायक प्रअहरुलाई छाडेर वेदप्रसाद वस्तीलाई निमित्त प्रअ बनाइनु व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी र वस्तीको सुनियोजित सेटिङमा घटनालाई फरक ढंगबाट मोडिएको भन्ने पुष्टि भएकाले अध्यक्ष र निमित्त प्रअलाई समेत छानविन गर्न समितिले माग गरेको छ ।

समितिले तत्कालका लागि विद्यालयको प्रशासनिक तथा निर्माणका कुनै पनि कार्य गर्न नपाउने गरी निर्देशनात्मक परिपत्रका लागि महानगर शिक्षा महाशाखासँग माग गरेको छ ।

पोखरा–१ मा शिक्षा क्षेत्रमा देखिएका विकृति,विसंगति तथा शैक्षिक अराजकता विरुद्ध संघर्ष गर्दै शैक्षिक क्षेत्रको उन्नयनका लागि सरोकार समितिले काम गर्दै आएको दावी गरिएको छ ।

Comments
Loading...