कास्कीमा निर्माणाधीन सेती जलविद्युत् आयोजनाको ३० प्रतिशत काम सकियो, ‘पावर हाउस’ निर्माण शुरु

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ ।

कोरोना कहरकाबीच गत वैशाखदेखी माछापुच्छ«ेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा माघ पहिलोसातादेखी विद्युत गृह(पावर हाउस) निर्माण शुरु गरिएको आयोजनाले जनाएको छ ।

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृत गृह बनाउन लागिएको छ । मेसिनरी उपकरणबाट विद्युत गृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनामा अहिले १०० जना मजदूरले काम गरिरहेका छन् ।

नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ ।
पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । पाइपलाइनका लागि जमिन रेखाङ्कन सकिएको छ ।

लुम्विनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडबले सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धन गरेको हो ।गत साउनदेखी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म आयोजनाको ३० प्रतिशत हाराहारीमा प्रगति भएकामा सभिलितर्फको प्रगति २० प्रतिशत छ । आयोजनाको सिभिलतर्फको काम रसुवा–लुना जेभीले गरिरहेको हो ।उत्पादित विद्युत चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन(प्रशारण लाइन) निर्माणका लागि बोलपत्र आह्वान भएर मुल्याङ्कन सकिएकाले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रशारण लाइनका लागि ‘सर्भे’ सकिएको छ । सम्झौतापछि केही दिनभित्रमा आयोजनाको पूर्ण क्षमतामा समग्र काम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“आयोजना निर्माणका लागि गर्नुपर्ने सबै कागजी प्रक्रिया पूरा गरेका छौँ । सिभिलतर्फको काम तीव्रताका साथ भइरहेको छ । अहिलेको कार्यप्रगतिबाट निर्धारित समयभित्र तोकिएको लगानीमा आयोजना सम्पन्न गर्न सक्छौँ भन्ने विश्वास छ ।”

रु पाँच अर्व लगानी रहेको आयोजनामा रु तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गर्ने भएका छन् । बैँक वित्तिय संस्थासँग लगानी सम्बन्धी सम्झौता यसअघिनै सम्पन्न भइसकेको आयोजना प्रवन्धक इन्जिीनियर लेखनाथ पाण्डेले बताउनुभयो ।

बाँकी रकम प्रवद्र्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उहाँका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासी समेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् ।

जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरीद गरिसकिएको तथा सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रश्ताव वन मन्त्रालयमा पेश गरिएको आयोजनाका सामाजिक विकास प्रवन्धक बमबहादुर गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...