कोरोना खोप लगाएका ३३ जनामा समस्या

डोटी। डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ । पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसारखोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेका छन् । गएको बुधबार अर्थात् यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको छ । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ ।

Comments
Loading...