भारतले नयाँ हवाई रुट नदिएपछि पोखरा र भैरहवा विमानस्थलको सञ्चालन अन्योलमा

काठमाडौँ । नेपालले वर्षौँदेखि मागिरहेको नयाँ हवाई प्रवेश बिन्दु दिन भारत तयार नहुँदा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नै हुन नसक्ने जोखिम बढ्दै गएको छ । नेपाल र भारतबीच सन् २०१४ देखि पटक–पटक हवाई रुटको विषयमा छलफल हुँदै आएको छ ।

हालसम्म पनि नयाँ हवाई रुटको विषय टुंगो नलाग्दा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमै समस्या हुने देखिएको हो । ‘दुवै विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले अहिले प्राविधिक र कूटनीतिक दुवैतर्फबाट रुट प्रयोग गर्ने सहमतिको पहल भइरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९३ प्रतिशत काम पूरा भइसकेको छ । निर्माण एवं जग्गा प्राप्तिको मुआब्जासमेत गरेर यो विमानस्थलमा राज्यको ३५ अर्ब खर्च हुँदै छ । यसअघि नै सम्पन्न हुनुपर्ने विमानस्थलको प्राविधिक काम कोभिड–१९ का कारण चिनियाँ प्राविधिक नआउँदा सम्पन्न हुन बाँकी छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि राज्यको मुआब्जा र विमानस्थल निर्माणमा ३० अर्बभन्दा बढी खर्च हुँदैछ । विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सरकारले दुवै विमानस्थल आगामी वैशाख–जेठदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तर, हवाई प्रवेश बिन्दुको विषयमा भारतसँग हालसम्म पनि सहमति हुन सकेको छैन । हवाई प्रवेश बिन्दुको विषय टुंगो नलागेसम्म विमानस्थल सञ्चालनमा समस्या आउने निश्चित छ ।

नेपालले जनकपुर, भैरहवा, विराटनगर, नेपालगन्जबाट हवाई प्रवेश बिन्दु माग गरेको छ । ती बिन्दूबाट अहिले बाहिरिने अनुमति भए पनि प्रवेशको भने अनुमति छैन । नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ ।

नेपालको पूर्वमा बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका देशबाट आउने जहाज ‘रोमियो ५८१’ रुट हुँदै सिमराबाट प्रवेश गरी काठमाडौं अवतरण गरिरहेका छन् । यसैगरी, पश्चिमबाट आउने जहाजले ‘गल्फ ५८९’ रुट हुँदै सिमराबाटै काठमाडौं अवतरण गर्छन् । भुटानको पारोबाट आउने जहाज मेची प्रवेश बिन्दुबाट छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण गर्छ ।

चीनको ल्हासाबाट आउने जहाज भने ‘ब्राबो ३४५’ रुट हुँदै नुनिम बिन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेका छन् । यसैगरी, नेपालबाट पश्चिमतर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुईवटा रुट छन्।

एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिरिने गरेका छन् । तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरिने गर्छन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

Comments
Loading...