कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णयको डेरी एशोसिएसनको विरोध

हिमाली आवाज । नेपाली डेरी एशोसिएसनले कृषिमा विदशी लगानी खुल्ला गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

नेपाल डेरी एशोसिएसन गण्डकी प्रदेशको संयोजनमा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा एशोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले कृषिजन्य विभिन्न वस्तुमा देश आत्मनिर्भर हुँदै गएका अवस्थामा सरोकारवालासँग सल्लाह समेत नगरी कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय गरिनुले राज्यको अर्थतन्त्रमा गम्भीर असर पार्ने बताउनुभयो ।

निर्णयले आत्मनिर्भरतातर्फ उन्मुख कृषि क्षेत्रमा प्रत्यक्ष असर पार्नुका साथै रोजगारी लगायतमा नकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।
नेपाल डेरी एशोसिएसनका गण्डकी प्रदेश अध्यक्ष शिवहरि आचार्यले देश कृषितर्फ आत्मनिर्भर बन्दै झण्डै ३५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरूमा रोजगारी सिर्जना भैरहेका अवस्थामा वैदेशिक लगानी भित्राउने निर्णय गरिनु गलत भएको बताउँदै निर्णय अविलम्ब फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

नेपाल डेरी एशोसिएसनका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्य सुमित केडियाले २०७५ चैत १ गतेको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिको वैठकले आत्मनिर्भर भएको क्षेत्रमा वैदेशिक लगानी आवश्यक नहुने निर्णय गरेको उल्लेख गर्दै सरोकारावालाबीच छलफल नगरी षडयन्त्रमूलक रुपमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा गौरीशंकर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शंकर बराल, नेपाल डेरीएशोसिएसनका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बजगाइँ लगायतले स्वदेशमा नै कृषिको आधुनिकीकरण गर्दै आत्मनिर्भर नभएका क्षेत्रलाई समेत आत्मनिर्भर बनाउनुपर्ने अवस्थामा गरिएको विदेशी लगानी भित्राउने निर्णय जायज नभएको टिप्पणी गर्नुभयो ।

Comments
Loading...