प्रचण्ड–माधव नेपालले नचिनेपनि सबै कार्यकर्ताको वृत्ति विकासको विधि सुनिश्चित गछौँ : नेता पुन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले नेता पुनले पार्टीलाई विधि र पद्धतीका आधार सञ्चालन गर्ने र सबै नेता कार्यकर्तालाई वृत्ति विकासको अवसर प्रदान गरिने बताउनुभयो ।

नेकपा कास्की सम्वद्ध बौद्धिक सङ्घ सङ्गठन तथा जनवर्गिय सङ्गठनको संयोजनमा आज पोखरामा भएको विचार गोष्ठीमा उहाँले भन्नुभयो,“राजनीतिक, विचार, सिद्धान्त र पद्धतीका आधारमा पार्टी निर्माण गछौँ, प्रचण्ड–माधव नेपाललाई नचिने पनि उहाँहरुले नचिने पनि यस पार्टीमा हरेक पार्टी कार्यकर्ताको भविष्य छ र वृत्ति विकास हुन्छ भन्ने कुराको विधि सुनिश्चित गर्न तयार छौँ,गछौँ ।”

प्रतिनिधिसभा विघटन र असंवैधानिक नियुक्तिका विरुद्ध आवाज उठाउनु संविधान र लोकतन्त्रको रक्षा गर्नु रहेको नेता पुनले बताउनुभएको छ ।

७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दवाव र सङ्घर्ष भइरहेको जिकिर गर्नुभयो ।
सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षा लगायतमा जनताको हक र अधिकार बढाएर संविधानमा समाजवादको आधार तयार गर्ने कुरा गरेपनि संविधानको रक्षा र लोकतन्त्रको रक्षा गर्नुपर्ने चूनौती थपिएको नेता पुनको भनाई छ ।

अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले व्यक्तिवाद र सर्वसत्तावादका विरुद्ध लड्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।
नेपाली समाजको समग्र रुपान्तरणमा कम्युनिष्ट पार्टीको अहम् भूमिका रहेपनि पार्टीभित्रको गलत र आत्मकेन्द्रित प्रवृत्तिको विपक्षाममा आफूलाई उभ्याउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद् विघटनको सिफारिस संवैधानिक प्रावधान र मान्यताका हिसावले असंवैधानिक रहेको जिकिर गर्नुभयो ।

बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्ने सक्ने व्यवस्था संविधानले नदिएको भन्दै उहाँले संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्र्ने उल्लेख गर्नभयो ।

Comments
Loading...