सार्दिखोला सहकारीको स्थापना दिवसमा खुला रक्तदान र शेयर सदस्यलाई बीउ विजन वितरण

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउपालिका –२ भुर्जुङ्गखोला स्थित सार्दीखोला बचत तथा ऋण सहकारी संस्था लि. को १५ औँ स्थापना दिवस मनाइएको छ । सो सहकारीले स्थापना दिवस शनिबार खुला रक्तदान कार्यक्रम तथा शेयर सदस्यहरुलाई विऊविजन वितरण गरेर मनाएको हो ।

नेपाल रेडक्रस सोसाइटी सार्दिखोला उप शाखा सार्दिखोलाको सहयोग, ग्रीनफोर्स यूवा समूहको व्यवस्थापनमा मिलनशिल आमा समूहको भवनमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा शेयर सदस्य तथा विभिन्न व्यक्तित्वबाट ३७ यूनिट रगत सङ्कलन गरी क्षेत्रिय रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र के सी लाई हस्तान्तरण गरिएको थियो ।

साथै उपस्थित शेयर सदस्यहरुलाई लौका, काँक्रो, घिरौँला, रामतोरिया, करेला, सिमी, बोडी, धनिया, जुगुर्नी फर्सी, चिचिण्डा लगाएतका वर्षे तरकारीका विऊविजन बाँडिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सर्वजित गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिमा माछापुच्छ«े गाउपालिका वडा नं. २, का वडा सदस्य गणेश आचार्य हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन संस्थाका सचिव गोविन्दराज आचार्यले गर्नु भएको थियो ।

Comments
Loading...