विजयपुर खोलामा मोटरेवल पुल बन्यो, मादीका उत्तरी गाउँ पोखरासँग जोडिए

हिमाली आवाज । पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ जोड्ने गरी बिजयपुर खोलामाथि पक्की मोटरेवल पुल बनेको छ ।

पोखरा–सिक्लेस सडकखण्डको विजयपुरखोलाको सिउँदीको मुखमा मोटरेवल पक्की पुलबनेपछि मादीका उत्तरी भेगका स्थानीयवासी उत्साहित भएका छन् ।वर्षौसम्म पक्की पुलको अभावमा सास्ती बेर्होदै आएका मादीवासी पुल बनेर उद्घाटन गरिएपछि उत्साहित बनेका छन् ।
सडक डिभिजन कार्यालय पोखराको रु पाँच करोड ७५ लाख २९ हजार १२४ लागतमा निर्माण गरिएको सो पुल ५४ दशमलव १७ मिटर लामो र ११ मिटर चौडाइको छ । डबल स्पान सुपर स्ट्ररक्चर डिजाइनको सो पुल ‘ओपन फाउण्डेशन’मा आधारित छ ।

पुल निर्माणका लागि विसं २०७५ असार २१ गते रायमाझी÷द क्याराभान जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएकामा निर्माण कम्पनीले विसं २०७७ असोज ८ गते तोकिएको म्यादभित्र पुल निर्माण सम्पन्न गरेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।

सो पुलले पोखरा महानगरपालिकासँग मादीका उत्तरी गाउँहरुलाई जोडेको छ । नवर्निमित पक्की मोटरेवल पुलको आज उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुल, सडक लगायत ठूला पूर्वाधार विकासका माध्यमबाट जनतालाई सुविधा दिन केपी ओली नेतृत्वको वर्तमान सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

‘समृद्ध नेपाल सुःखी नेपाली बनाउने अभियान भित्रको महत्वपूर्ण पक्ष भौतिक पूर्वाधारलाई सरकारले प्राथमिकता दिएको बताउँदै उहाँले विगतमा वर्षोसम्म बन्न नसकेका विकास आयोजना वर्तमान सरकार आएपछि तीव्र गतिमा अघि बढेको मन्त्री नेम्वाङको भनाई छ ।

मध्यपहाडी राजमार्ग सहित, मदन भण्डारी राजमार्र्ग, हुलाकी, राजमार्ग, सुरुङमार्ग लगायतका ठूला पूर्वाधार र पूर्व पश्चिम राजमार्गलाई स्तरोन्नति गरी काँकडभिट्टादेखी गड्डाचौकीसम्मनै फराकिलो बनाउने योजना शुरु भएको मन्त्री नेम्वाङले जानकारी दिनुभयो ।

यसअघि एक वर्षमा ३० देखी ३५ मोटरेवल पुल बन्ने गरेकामा वर्तमान सरकार बनेपछि एकैवर्षमा ५५३ मोटरेवल पुल निर्माण गरिएको उल्लेख गर्दै उहाँले डेढ दिनमा एउटा पुल बन्ने गरेको जिकिर गर्नुभयो ।

पूर्वमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जनतालाई विवादको भारी बोकाउन छाडेर सबै पक्ष सुन्दर नेपाल निर्माणमा अघि बढ्नुपर्ने बताउनुभयो । नेकपाका अध्यक्ष केपी ओलीको नेतृत्वमा पूर्वाधार विकासमा फड्को मार्दै देश सुरुङ युगमा प्रवेश गर्न लागेको उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले विजयपुर खोलामाथि पुल बनेपछि पोखरा र मादी गाउँपालिकाको उत्तरी भेगलाई जोड्ने काम गरेकाले विकासका दृष्टिले कोशेढुङ्गा सावित भएको बताउनुभयो ।

पूर्व जिविस उपसभापति एवं नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले पुल निर्माणका लागि जमिन उपलव्ध गराउन तथा पुलको योजना पार्नका लागि आफ्नो तर्फबाट पहल भएको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेकाले समेत पुल छिटो निर्माण भएको बताउनुभयो ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जनताको वर्षौअघिदेखीको पुलको माग पूरा भएको र मादीको विकासको ढोका खुलेको बताउनुभयो ।

 

Comments
Loading...