मादीका उत्तरी भेगका जनतालाई विजयपुरको मोटरेवल पुलले दिएको खुःशी

कृष्ण दवाडी
हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–१ खिलाङका गोलमान गुरुङलाई काँहुखोला–दूधपोखरी सडक खण्डको विजयपुर खोलामा पक्की मोटरेवल पुल बनेर गाडी चल्दा समेत अझ सपना जस्तै लागेको छ ।

पुलका लागि लामो समय प्रयत्न गर्नुभएका उहाँजस्ता धेरैको मुहारमा अहिले पुल बनेर उद्घाटनसँगै खुःशी छाएको छ । पोखरा–१३ र मादी–५ जोड्ने सिउँदीको मुख स्थित विजयपुर खोलामा पुल निर्माण सम्पन्न भएर गाडी वारपार गर्न थालेपछि गाउँलेमा खुःशीयाली छाएको हो । सोमबार भव्य कार्यक्रम सहित पुल उद्घाटन भएपछि उनीहरु थप उत्साहित भएका छन् ।

मादीका उत्तरी भेगका जनताले बर्खायाममा भोग्नुपरेको दुःख र कष्ट बर्णन गरिसाध्य छैन । गाउँमा कोही बिरामी परेर अस्पताल लैजादाँ होस् वा सामान्य अवस्थामा बजार आउँदा÷जाँदा होस् बर्खामा उर्लिएर आउने विजयपुर खोलाको भेलमा हेलिनुको विकल्प थिएन ।

विसं २०५५ तिर बनेको झोलुङ्गे पुलले पैदल आवत जावत केही सहज बनाएपनि नदीमा गाडी वारपार हुन नसक्दा जनतालाई सास्ती थियो । बर्खालाग्न थालेपछि गाउँलेको पोखरासँगको सम्पर्क विच्छेद हुने गरेको थियो ।

त्यसैलेपनि लामो प्रयासपछि पुल बन्दा तत्कालीन बाटो समितिका अध्यक्ष समेत रहनु भएका गुरुङलाई अझै सपना जस्तो लागिरहेको हो । पुल निर्माणसँगै गाउँमा विकास र समृद्धिको ढोका खुलेको उहाँ बताउनुहुन्छ ।उहाँले भन्नुभयो,“पुलका लागि धेरै ठाउँमा भनसुन ग¥यौँ,डेलिगेसन गयौँ तर सफल भएका थिएनौँ । ढिलै भएपनि अहिले निर्माण भएकाले गाउँवासीमा खुःशीको सीमा छैन,अझै सपना जस्तो लागिरहेछ ।”

पोखरा महानगरपालिका र मादी गाउँपालिकाको उत्तरी सीमालाई विजयपुर खोलाले छुट्टाएको छ । दुई पालिकाको सीमा रहेको नदी बर्खायाममा मादीकावासीका लागि त्रास । बनेर आउँथ्यो । हालको आधा गाउँपालिका वर्खायमा गाउँमै थुनिनुपर्ने बाध्यता थियो ।
अब भने उनीहरुले सुःखका दिन महशुस गरेको मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङ बताउनुहुन्छ ।

“पुलका लागि तत्कालीन जिविस हुँदै सडक विभागसम्म पहल भएको थियो । सडक विभागबाट पुलको योजना परेर काम सफल हुँदा उत्साह जागेको छ । योजना पार्न लागिपर्ने गाउँका अग्रज, राजनीतिक दल, सडक विभागका तत्कालीन र वर्तमान डिभिजन प्रमुख, जनप्रतिनिधि सहित यसमा भूमिका खेल्ने धन्यवादको पात्र हुनुहुन्छ ।”उहाँले भन्नुभयो ।

खोलामा पक्की पुल स्थानीयको हरेक निर्वाचनमा पहिलो माग रहने गरेको थियो तर लामो समय त्यसले सार्थकता पाउन नसकेपनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि दवाव बढ्योे । विगतमा सर्भे र माटो परीक्षणमा असफल भएपनि जनप्रतिनिधि आएपछि विभिन्न विकल्प सहित पुल निर्माणको योजनालाई सफल बनाइयो ।

पुल बनेपछि मादी गाउँपालिकामा १२ वडा मध्ये छ वडाका १० हजार बासिन्दा पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । वडा नं १,२,३,५,६र७ नं वडाका वासिन्दाको शहर र गाउँ आवतजावतमा सहज भएको छ ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ वर्षोअघि देखीको पुलको सपना विपनामा परिणत हुँदा आफूहरु खुःशीले भावविह्ल बनेको बताउनुहुन्छ । लोकतन्त्र र सही नेतृत्वका कारणले पुल सहित मादीमा विकासको ढोका खुलेको भनाई अध्यक्ष गुरुङको छ ।उहाँले भन्नुभयो,“विजयपुर खोलामा पुल नहुँदा मादीका आधा जनसङ्ख्या बर्खाको खोलामा भारी बोकर हिँड्नुपर्ने, शहर जान बञ्चित हुनुपर्ने बाध्यता थियो तर अब ती दिन गएका छन्, गणतन्त्र र जनप्रतिनिधि आएपछि बनेको पुल लोकतन्त्रको फल हो ।”

गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको शान्ति प्रक्रियाको उद्गम थलो मानिएको सिक्लेस प्रवेशको प्रमुखमार्ग यही हो । तर सिक्लेस जान पुलकै कारण सहज थिएन । पर्यटनको गन्तव्य बनेको सिक्लेको चर्चा शान्ति सम्झौतापछि स्वदेश तथा विदेशमा समेत थप चर्चामा छ ।

देशमा चलेको १० वर्ष लामो माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरणको श्रेय सिक्लेसलाई जाने गरेको छ । तत्कालीन विद्राही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाबीच विसं २०६३ जेठ अन्तिम साता सिक्लेसमा वार्ता भएको थियो ।

सोही वार्तापछि प्रचण्ड लगायत माओवादी नेतृत्व असार पहिलोसाता राजधानीमा पहिलोपटक सार्वजनिक भएको र शान्ति सम्झौतापछि देशमा द्धन्द्ध अन्त्य भएकाले सिक्लेसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले ‘शान्ति स्मारक’ निर्माण गरेको छ ।

स्मारक अनावरणका लागि विसं २०७५ मङ्सिरमा सिक्लेस आउँदा प्रचण्डले विजयपुर खोलाको सोही पुल समेत शिलान्यास गर्नुभएको थियो । प्रचण्डबाट शिलान्यास भएकाले समेत पुल निर्धारित समयभित्रमा बनेको विश्वास स्थानीयले गरेका छन् ।

पुल बनेसँगै सिक्लेसको भविष्य थप सुन्दर बनेको गाउँका अगुवा बताउँछन् । सिक्लेस सहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताल लगायत मादीका पर्यटकीय स्थलहरुमा जाने पर्यटकलाई समेत सहज हुने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

सडक डिभिजन कार्यालय पोखराको रु पाँच करोड ७५ लाख २९ हजार १२४ लागतमा निर्माण गरिएको सो पुल ५४ दशमलव १७ मिटर लामो र ११ मिटर चौडाइको छ ।

Comments
Loading...