गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन पोखरामा

    हिमाली आवाज ।  नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भूतपूर्व सैनिक तथा निबृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा सेनाको पश्चिम पृतना हेडक्वाटर, विजयपुर पोखरामा आज गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

“शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार” भन्ने नाराका साथ शुरु सम्मेलन प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गर्दै भूतपूर्व सैनिक तथा बहालवाला सैनिकबीच सामिप्यता बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

भूपू सैनिक तथा हिताधिकारीको पिरमर्का व्यवस्थापनको माध्यमका रुपमा सम्मेलन प्रभावकारी रहेको उहाँले बताउनुभयो । भूतपूर्व सैनिकको सेवा निबृत्त जीवन स्वदेशमा नै उच्च आत्मसम्मानका साथ रहोस् भन्ने आँफूहरूको चाहना भएको बताउँदै उहाँले नेपाली सेना कल्याणकारी बोर्डले त्यस किसिमका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति थापाले सम्मेलनले भूपू सैनिकको आत्मसम्मान बढ्नुको साथै समाजमा योग्य नागरिक भई सेनाप्रति सकारात्मक सोचको विकास गर्दै राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानसेनापति थापाले ज्येष्ठ भूतपूर्व सैनिक ९६ वर्षीय बाग्लुङ जिल्ला निवासी सिपाही मनिराज थापा र तत्कालीन श्री भैरवप्रसाद गुल्मबाट अबकासप्राप्त सुवेदार हर्कबहादुर थापा मगरको श्रीमती ९९ वर्षीया नरकुमारी थापा मगरलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा सर्वाेत्कृष्ट लघु व्यवसायी बन्न सफल तनहुँ जिल्लाका पूर्व जमदार बोधराज शर्माकी श्रीमती स्मृति शर्मा वाग्ले र गोरखा जिल्लाका पूर्व प्रबन्ध हुद्धा चन्द्रसिंह बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै चार वा सो भन्दा बढी सन्ततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना आमाबुबालाई सम्मान गरिएको थियो ।

सम्मेलनकै अवसरमा फरक क्षमता भएका तथा असक्तहरूलाई ह्विल चियर, बैशाखी र आर्थिक सहयोग तथा लघुवित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणिलाई चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी अधिकृत पूर्व रथी गौरव तण्डुल, पूर्व रथी अमर पन्त, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापति पूर्व सहायक रथी केशरबहादुर भण्डारी र बलाधिकृत रथी प्रभुराम शर्माले नेपाली सेनाको इतिहासमा भूतपूर्व सैनिकले खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

Comments
Loading...